• फिचर समाचार

    लक डाउनमा अनलाइन तालिम दिदै प्रबिधि मैत्री शिक्षक समाज

      सान नेपाल

    झापा: भनिन्छ मानिसमा समय अनुसारको दृष्टिकोण भयो भनें विकसित समाज निर्माण गर्न धेरै समय लाग्दैन । लक डाउनले विश्व आक्रान्त छ, मुलुक २ महिना देखि ठप्प छ, बिधालयहरु अनिश्चितकालिन रूपमा बन्द छन्, प्रशासनले सबैलाई घर भित्रै बस्नु भनेको छ । लक डाउनले मानिसलाई समय बिताउन समस्या परिरहेको बेलामा प्रबिधि मैत्री शिक्षक समाज नेपाल आवद्ध शिक्षकहरुलाई भने फुर्सदको समय मिलाउन हम्मे हम्मे परेको देखिन्छ ।

     

    ईन्टरनेटको उच्चतम प्रयोग गर्दै  लक डाउनको समयमा पनि सिक्न र सिकाउन सकिन्छ भन्ने मान्यतालाई चरितार्थ गर्न सफल भएको छ ‘प्रबिधि मैत्री शिक्षक समाज नेपाल’ । यस संस्थाले प्रदेश १, सामाजिक बिकास मन्त्रालयको आर्थिक  सहयोगमा अनलाइन माध्यम बाट ६० दिने  कम्प्युटर तालिम प्रदान गरिरहेको छ । उक्त तालिमले सामुदायिक बिधालयमा अध्यापनरत शिक्षकहरुलाई कम्प्युटरको आधारभुत तालिम दिने बताइएको छ ।

     

    ओमकार टाइम्स संग कुरा गर्दै प्रबिधि मैत्री शिक्षक समाज झापा संयोजक टीका सुवेदीको  भनाइ यस्तो छ :

     

    यो तालिमको मुख्य उद्देश्य के हो ?

     

    लक डाउनको समयमा अनलाइनको माध्यमबाट कम्प्युटरको आधारभुत तालिम प्रदान गर्नु नै यस कार्यक्रमको मुख्य उद्देश्य हो । यो तालिमको आयोजनाले एकातिर फुर्सदको समयको सदुपयोग भएको छ भनें अर्को तिर कम्प्युटरको व्यवहारिक प्रयोजनको कुराहरु सिक्ने र सिकाउने अवसर मिलेको छ ।

     

    लक डाउनको बेला एक आपसमा भेटघाट गर्न निशेध गरिएको छ, यस्तो बेलामा तालीम सञ्चालन गर्न कठिनाइ हुँदैन ?

     

    घरमै बसेर ईन्टरनेटको माध्यमबाट तालीम लिने सकिने प्रबिधिको प्रयोग गरिएको छ । यसरी सञ्चालन गरिने तालीममा भेटघाट गर्नैपर्ने आवस्यकता नै हुदैन । एकैपटकमा १ सय शिक्षकले तालिममा सहभागिता जनाउदै आउनुभएको छ । यहाँ प्रशिक्षकलाई आफुले नबुझेको कुराहरू सोध्न र सामुहिक छलफल गर्दै आफुले जानेको कुराहरू एकआपसमा आदानप्रदान गर्न अत्यन्तै सहज हुन्छ । औपचारिक रूपमा सञ्चालन गरिने अन्य तालीमहरु जस्तै प्रकारको तालिम हुने भएकोले यसको प्रभाकारिता समेत उच्च रहन्छ ।

     

    प्रशिक्षकहरु के-कस्ता हुनुहुन्छ?

     

    प्रबिधि मैत्री शिक्षक समाज नेपालमा आवद्ध शिक्षक साथीहरू आफैंमा पुर्ण दक्ष हुनुहुन्छ । प्रदेश १ भित्र ६ वटा केन्द्र मार्फत संचालित तालिममा वहाँहरु नै समय मिलाएर आ-आफ्नो जिम्मेवारी वहन गर्दै आउनु भएको छ । म लगायत प्रदेश १ अध्यक्ष बालकुमार रेग्मी, केन्द्रिय प्रबिधि संयोजक घनस्याम अधिकारी, छबि पोख्रेल, छवि आचार्य लगायत १० जनाले प्रशिक्षण दिएर सहयोग गरि राख्नु भएको छ । यसका साथै हामीलाई अंग्रेजी भाषा शिक्षकहरुको संगठन (नेल्टा)  सहयोग रहेको छ ।

     

    सायद यस प्रकारको तालिम हाम्रो समाजमा नौलो नै हुनुपर्छ, तालीममा के कस्ता विषय बस्तु समेटिएको छ ?

     

    वास्तबमै यो प्रयास हाम्रो लागि नौलो नै हो । बिदेश तिर हेर्ने हो भने यस प्रकारको अनलाइन तालिम निकै पहिले देखि नै प्रचलनमा आएको पाइन्छ । यस प्रकारको तालीमले सिक्ने र सिकाउने भावना संगै हरेक सहभागी बिच आत्मीय सम्बन्धको समेत विकास गरेको हुन्छ ।

     

    विषय वस्तुको कुरा गर्दा यो पटकको तालिममा हामीले बिधालयमा  कम्प्युटरको प्रयोग गर्दा जान्नु पर्ने अत्यावश्यक विषयहरू समेटेका छौ । हाम्रै देशको हिसाबमा हेर्ने हो भने पनि बिधालयमा कम्प्युटरको प्रयोग नयाँ नै हो । सबै बिधालयमा कम्प्युटर प्राविधिकको पर्याप्तता पनि हुदैन । विद्यार्थीको विभिन्न खाले शैक्षिक रेकर्डहरु तैयार गर्नको लागि अत्यावश्यक सफ्टवेयर चलाउने आधारभुत ज्ञान सिकाउने हाम्रो प्रयास रहेकोे छ ।

     

    सहकर्मी शिक्षकहरु बाट कस्तो सहयोग प्राप्त भएको छ ?

     

    सहभागी हुनुभएका र विभिन्न कारणले  सहभागिता जनाउन नसक्नु भएका शिक्षक साथीहरू संग समेत हामीले समन्वय प्रयास गरिरहेका छौँ । वहाँहरु बाट तालीम सञ्चालन गर्न सकारात्मक सहयोग प्राप्त भएको छ । दैनिक रूपमा हुने १ सयको हाराहारीमा शिक्षकहरुले सहभागिता जनाइदिनु भएको छ । यो नै हाम्रो लागि सबै भन्दा बलियो पक्ष हो ।

     

    तपाईं स्वयं पनि लामो समय देखि प्रबिधिको क्षेत्रमा कृयाशिल हुनुहुन्छ, बिधालयहरुले  प्रबिधिको प्रयोगमा सफलता पाउन के गर्नुपर्छ जस्तो लाग्छ?

     

    हेर्नुस् , हामी २१ औं सहस्राब्दीमा छौँ । आधुनिक परिवेश संगै हरेक काम गर्ने गतिमा पनि परिवर्तन हुनु जरुरी देखिन्छ । हामीले विद्यार्थीलाई हिजोका दिनमा कस्तो शिक्षा प्रदान गर्यौं भन्ने कुरा भोलीको लागि आधारशिला मात्र हो, प्रबिधिको प्रयोगले सिकाइका हरेक तरिकालाई नयाँपन दिएको हुन्छ । हिजोआजका विद्यार्थी आफैंमा प्रबिधि पृय छन् । उनीहरुलाई इलेक्ट्रोनिक डिभाइसबाट टाढा राख्न खोज्नु भनेको नयाँ पुस्ताको भावनामा चोट पुर्याउनु हो । तसर्थ उनीहरुलाई सिकाउनको लागि एउटा सवल शिक्षकले धेरै कुरा सिक्नु जरुरी पनि हुन्छ । प्रबिधिको प्रयोग गर्नको लागि बिधालयले नयाँ कम्प्युटर प्राबिधिक खोजेर नियुक्ति गर्नु खासै जरुरी हुदैन। हामी शिक्षकहरुले प्रबिधिमा केही न केही ज्ञान राख्न सक्ने इच्छाशक्ति मात्र भएमा पनि आधुनिक पद्धतिमा शिक्षण सिकाइ गर्न सहजता हुन्छ जस्तो लाग्छ । मैले आज भन्दा २ वर्ष अगाडी अमेरिकन राजदुताबास बाट समेत प्रबिधि मैत्री तालीम लिने अवसर पाएको थिए ।आफ्नै कुरा गर्दा जीवनमा भाग र लिन पाएका अनेकौं तालीम तथा सिकाइ क्रियाकलापको व्यवहारिक प्रयोजनमा आफुलाइ समर्पण गर्ने प्रयासको सुरुवात  गरेको छु । आफुले सिकेका कुरालाई अरु संग बाढ्ने अभ्यास  नै आजको आवस्यकता हो भन्ने लाग्छ ।

     

    प्रबिधि मैत्री शिक्षक समाज नेपालका केन्द्रिय प्रबिधि संयोजक घनस्याम अधिकारीको भनाइमा प्रदेश १ को आर्थिक सहयोगमा संचालित यस तालिममा आवद्ध शिक्षकहरुले छोटो समयमा धेरै कुरा सिक्न सकेको बताउँछन् । बिधालयको कामका अतिरिक्त  दैनिक रूपमा गरिने हरेक कार्य सम्पादनमा कम्प्युटरको प्रयोग अनिवार्य हुँदै गएको ले यस प्रकारका तालीमबाट बन्चित हुनु नहुने उनी बताउँछन् ।

     

    तालिममा सहभागी भएको१८ औं  दिनको यात्रा बाटै सोचे भन्दा धेरै उपलब्धि हासिल गर्न सकेको बताउने अंग्रेजी भाषा शिक्षक दिपक अधिकारी अनलाइन तालिमलाइ थप परिमार्जित गर्दै लैजानुपर्ने आवस्यकता औंल्याछन् । मुलुकलाई पुर्ण रूपमा  प्रबिधि मैत्री बनाउदै अनलाइन शिक्षालाई अनिवार्य गरिदै लान सकेमा शिक्षण सिकाइ अझ प्रभावकारी हुने उनको तर्क छ ।

     

    प्रबिधि मैत्री शिक्षक समाजले आयोजना गरेको अनलाइन तालिमको पुर्ण सफलताको कामना सहित आगामी दिनमा समेत अत्याधुनिक र उपलब्धिमुलक तालीम आयोजना हुन सक्ने अवसर मिलोस भन्दै हार्दिक शुभकामना अर्पण गर्दछौं  – ओमकार टाइम्स परिवार

    प्रतिकृया दिनुहोस