• विचार

    के ज्ञानेन्द्र शाहले आफ्नो दाजुको बंशनाश गरेकै हुन त?

      ओमकार


    – जानुका निरौला

     

    मुलुक भ्रष्टाचार र बेथितिको काण्डै काण्डमा चुर्लुम्म डुबेको छ । गणतन्त्रको माध्यमबाट समृद्धिको सपना देखाएता पनि मुलुकमा जताततै अन्याय,अत्याचार,बलात्कार ,भ्रष्टाचार व्याप्त छ । गल्ती, समीक्षा र स्वीकार गर्न सक्ने क्षमता राजनीतिक नेतृत्वमा नभएकै कारण मुलुक पीडादायी स्थितिमा पुगेको छ। विगतका गल्तीबाट पाठ सिक्न सक्नुपर्छ तर विगतमा के गल्ती भए र तिनबाट के कसरी पाठ सिक्ने भन्ने हेक्का अहिलेका राजनैतिक दलले बुझ्न जरुरी छ ।

     

    विगतमा राजसंस्थाबाट भएको सबैभन्दा ठूलो गल्ती नै लोकतन्त्रमाथिको प्रहार हो। अर्थात् राज्यको सम्पूर्ण राजकीय शक्ति आफ्नो हातमा लिएर शासन गर्ने प्रवृत्ति र कार्य हो। राजसंस्थाको यही प्रवृत्तिका कारण अन्ततः गणतन्त्रको मार्ग प्रशस्त बन्यो। तर राजसंस्थाबाट भएको त्यो गल्तीको समीक्षा हुनु, स्वीकार गर्नु र त्यसबाट पाठ सिक्नु प्रशंसनीय छ।

     

    मुलुक यो अबस्थासम्म आईपुग्ने प्रस्थान बिन्दु ६२/६३को जनआन्दोलन नै हो । उक्त जनआन्दोलन हुनुमा बाहिरी रुपमा जे जति कारणले भुमिका खेलेता पनि भित्री र प्रमुख कारण भनेको राजसंस्था प्रतिको बद्नामी नै हो ,सोझा सिधा जनताको मानसपटलमा बिरेन्द्रको वंशनासमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा तात्कालिक राजा ज्ञानेन्द्रको हात छ भन्ने पारियो र राजसंस्थालाई अत्यन्त बदनाम गराईयो । राजाबाट वास्तविक हत्यारा पत्ता लगाउन देखाएको उदासीनताबाट उक्त कुरालाई स्थापित गर्न थप बल पुग्यो ।

     

    तर के बिरेन्द्रको वंशनास हुनुमा ज्ञानेन्द्रको हात भए ज्ञानेन्द्र आज यति उच्च मनोबलका साथ सुरक्षित हिड्ने थिए ? मुलुकको राजनीतिक समिकरण अहिलेको जस्तो हुने थियो ? यी र यस्ता प्रश्नको समाधानका लागि पुर्वराजा ज्ञानेन्द्रको क्रियाकलापलाई तीन ओटा कोणबाट हेर्न जरुरी छ ।

    १. त्याग
    संसारमा सानो सानो राजनीतिक लाभका लागि ठूला ठूला हत्याकाण्ड भएका छन् , सयौं मानिसको रगतको होली खेलेका, हजारौ मान्छे घरवारविहीन बनाईएका उदाहरण हामीसंग प्रयाप्त छन् । तर के ज्ञानेन्द्रले बिरेन्द्रको वंशनास गरेको भए आफ्नो २४० बर्षको इतिहास बोकेको विरासत त्यति सजिलै छोड्ने थिए ?

     

    दाजु कै वंशनास गरेर हत्याएको सत्ता के सामान्य जनता भन्दा महत्वपूर्ण हुने थिएन ? दाजु कै वंशनास गर्ने मान्छेमा कत्ति धेरै राक्षसपन हुन्थ्यो होला,के जनआन्दोलन दबाउन त्यो राक्षसपन देखिने थिएन ? यी र यस्ता प्रश्नको जबाफले नै ज्ञानेन्द्र निर्दोष छन् भन्ने पुष्टि गर्दछ । यदि ज्ञानेन्द्र अपराधी हुन्थे भने जनदबाब दिएकै भरमा राज्यको सम्पूर्ण बागडोर हासीहासी त्याग गर्ने थिएनन् ।

    २. उच्च मनोबल 

    जनताले मत दिएर बनाएका नेताहरु आफु असुरक्षित भएको भनी उच्च सुरक्षा घेरा भित्र हिड्दै गर्दा जनताद्वारा फालिएका राजा निर्वाधरुपमा देशको विभिन्न कुनामा घुमिरहेका देखिन्छन् । उनको अनुहारमा न कुनै ग्लानी छ न कुनै हिनतावोध छ।यदि उनिबाट दरबार हत्याकाण्ड घटाईएको भए उनिमा यत्रो उच्च मनोबल हुने थिएन । उनी सबै भन्दा असुरक्षित आफुलाई ठान्ने थिए ।

    ३. गल्ती स्वीकार 

    हो ज्ञानेन्द्रबाट लोकतन्त्र माथि प्रहार गरेर गल्ती भएकै हो,जस्को कारणले गणतन्त्रको मार्ग प्रशस्त भयो । तर गल्तीको समीक्षा गरेर गल्ती स्वीकार्ने क्षमता र साहस उनिमा मात्र देखियो । नेपालमा गणतन्त्र मनैबाट स्वीकार्ने पहिलो ब्याक्ती नै पुर्वराजा ज्ञानेन्द्र हुन भन्दा अन्यथा नहोला ।यदि ज्ञानेन्द्र अपराधी हुन्थे भने न उनले गल्तीको समीक्षा गर्दथे न गल्ती नै स्वीकार गर्दथे ।

     

    संसारमा सत्ताले तानाशाह जन्माएको उदाहरणहरु थुप्रै छन् । सत्ता प्रप्तीको लागि हजारौ मान्छे मार्न तयार हुनेहरुको इतिहास खोज्न अन्य कुनै देश जानू पर्दैन । नेपाल कै इतिहास पल्टाए प्रयाप्त उदाहरण भेटिन्छन् । तर जनदबाब कै करण साधारण ढंगले सत्ता छोडेर बरु आफु नागार्जुनको जंगलमा बस्न तयार हुने राजालाई लगाईएको गम्भीर आरोपबाट सफाई दिने बेला भैसकेन र ? यो प्रश्नको जबाफ सम्पूर्ण नेपालीले खोज्ने बेला भैसकेको छ । राजालाई पुर्वराजा भन्दै गर्दा हामी नेपालीलाई नै पुर्व नेपाली अनि हाम्रो प्राण भन्दा प्यारो मातृभूमि नेपाललाई पुर्व नेपाल भन्ने दिन नाआओस।


     

    प्रतिकृया दिनुहोस