• फिचर समाचार

    विवादमा तानिएका चीनका लागि नेपाली राजदूत लिलामणि पौडेललाई फिर्ता बोलाउने तयारी

      ओमकार


    काठमाडौं । बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा चीनका लागि नेपाली राजदूत तथा पूूर्व मूख्यसचिव समेत रहेका लिलामणि पौडेल मुछिएपछि सरकारले उनलाई फिर्ता बोलाउने तयारी गरेको छ ।

    चीनका लागि नेपालको राजदूतमा नियुक्त भएदेखि नै विवादमा तानिँदै आएका लिलामणि पौडेल पछिल्लो प्रकरणले थप विवादमा तानिएका छन् । बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको करिब एक सय १४ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा मुख्यसचिव रहेका बेलामा लीलामणि पौडेलको संलग्नता रहेको समाचार बाहिरिएपछि उनी पनि मुछिएका छन् ।

    भूमाफिया र व्यापारीको योजनाअनुसार गुठी संस्थान, मन्त्रालय हुँदै मन्त्रिपरिषद्बाट सरकारी जग्गा हिनामिना हुनेगरी भएका निर्णय प्रक्रियामा उनको प्रत्यक्ष संलग्नता देखिएको खुल्न आएको छ ।

    सरकारी जग्गा हडप्न खडा गरिएको पशुपति टिकिन्छा गुठीका नक्कली मोहीलाई करिब साढे ३ रोपनीको लालपुर्जा दिनेसम्बन्धी निर्णयमा तत्कालीन मुख्यसचिव पौडेलको समेत संलग्नतामा भएको पाइएको छ ।

    सरकारी जग्गा हडप्न खोज्नेलाई दण्डित गर्नुको साटो मन्त्रिपरिषद्बाट निर्णय भएर पूर्वमुख्यसचिव लीलामणि पौडेलको हस्ताक्षर रहेको पत्रपछि गुठी संस्थानले भूमाफियालाई सरकारी जग्गाको लालपुर्जा दिएको खुल्न आएको छ ।

    व्यक्तिका नाममा मोही कायम गरिएको उक्त सरकारी जग्गा अहिले भूमाफियाद्वय शोभाकान्त ढकाल, रामकुमार सुवेदी र व्यायारी मीनबहादुर गुरुङलगायतका नाममा रहेको अनुसन्धानमा संलग्न अधिकारी बताउँछन् ।

    यसरी एकपछि अर्कोगरी विवादमा तानिँदै आएका राजदूत पौडेललाई नेपाल सरकारले
    एक दुई महिनाभित्रै फिर्ता बोलाउने तयारी गरेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

    यसअघि राजदूत पौडेलमाथि चीनको राजदूतका रुपमा रहेर सन्तोषजनक काम गर्न नसकेको गुनासो व्यापक रुपमा आएको थियो । चीनमा बसेर उनले नेपाल चीन सम्बन्धलाई कूटनीतिक हिसावले सवल बनाउने भन्दा छोराको व्यापार प्रवर्धन तिर लागेको खवर बाहिरिएको थियो ।


     

    प्रतिकृया दिनुहोस