• देश

    तत्कालिन राजा वीरेन्द्रका प्रमुख शाही पाश्र्ववर्ती (एडिसी) सुन्दरप्रताप रानाको पुस्तक `दरबारको दु:खान्त´ बजारमा आउदै

      ओमकार


    काठमाडौं :  तत्कालीन राजपरिवारका अधिकांश सदस्यको ज्यान जानेगरी जेठ १९ मा भएको हत्याकाण्ड र त्यसपछिका दृश्यावलीको वर्णन समेटिएको पुस्तक ‘दरबारको दुःखान्त’ आउँदो सोमबारदेखि बजारमा आउन लागेको हो। १८ वर्षअघि भएको राजदरबार हत्याकाण्ड के थियो, कसरी भएको थियो ? यसबारे घटनाका प्रत्यक्षदर्शी सैन्य अधिकारीले आफ्नो वृत्तान्त सार्वजनिक गर्न लागेका छन्।

    २०५८ जेठ १९ गते राती नारायणहिटीमा गोली चल्दाचल्दै छिर्ने पहिलो व्यक्ति थिए– तत्कालिन राजा वीरेन्द्रका प्रमुख शाही पाश्र्ववर्ती (एडिसी) सुन्दरप्रताप राना। उक्त हत्याकाण्ड र राजपरिवारसँग उनको सम्वन्धमा आधारित पुस्तक ‘दरबारको दुःखान्त’ यसै साता प्रकाशित हुँदैछ।

    तत्कालीन राजा, रानी र युवराजको एडीसीका रुपमा दरबारमा १७ वर्ष बिताउँदाका अन्य थुप्रै अनुद्घाटित घट्नाका साक्षी रानाको पुस्तकमा हालसम्म बाहिर नआएका निकै महत्वपूर्ण र रोचक प्रसंग पढ्न पाइने किताब पब्लिसर्सले शनिबार जारी विज्ञप्तिमा जनाइएको छ।

    ‘राजदरबारमा अकल्पनीय हत्याकाण्ड भएयता १८ वर्षभरी मेरो जीवन एकखाले उकुसमुकुस र छटपटीबाट गुज्रियो,’ एडीसी राना भन्छन्, ‘दरबारको दुःखान्त पुस्तक मेरो त्यही छटपटीको अवतरण हो।’

    प्रमुख एडीसी रानाले कूल १९ वटा अध्यायमा बाँडिएको यो पुस्तकमा आफूले आँखैअगाडि देखेको जेठ १९ को घट्ना र त्यसपछिका दृश्यावलीको वर्णन गरेका छन्। उनी भन्छन्, ‘बिलियर्ड हलको प्रलयकारी दृश्य, मेसिनगनको फायर हुँदाहुँदै राजालाई त्यहाँबाट निकाल्दाको क्षण, घाइते राजाको प्राण बचाउन दौडाउँदाको अवस्था र अस्पतालको कोलाहल मेरो आँखाभरि झलझली घुमिरहन्छ।’

    पुस्तक दरबार हत्याकाण्डको वरिपरीमात्र घुमेको छैन। तत्कालीन राजपरिवारका सदस्यहरुको स्वाभाव, शैली, राजा वीरेन्द्रको रानी ऐश्वर्य, छोरा दीपेन्द्र र भाइहरू ज्ञानेन्द्र–धीरेन्द्रसँगको सम्वन्धलगायत थुप्रै निजी प्रसंगहरु पनि यसमा समाविष्ट छन्।

    राजा वीरेन्द्रले महत्वपूर्ण राजनीतिक निर्णयहरु लिंदाको मनोविज्ञान, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, मदन भण्डारीलगायतका नेतासँगको व्यक्तिगत सम्वन्ध, भारतसँगको टकराव, चीनसँग हतियार विमानभेदी अस्त्र किन्दाको पृष्ठभूमि, राजदरबारको आन्तरिक समीकरण आदिबारे पनि पुस्तकमा पढ्न पाइन्छ।

    ‘समग्रमा राजपरिवारको जीवन र अन्त्यको वृत्तान्त हो– ‘दरबारको दुःखान्त’, जसले नेपालको निकट इतिहास बुझ्न सघाउँछ’, किताब पब्लिसर्सले भनेको छ।


     

    प्रतिकृया दिनुहोस