• समाचार

    विदेशबाट ल्याइने नेपाली नागरिकको प्राथमिकता सूची तयार

      ओमकार टाईम्स

    काठमाडौँ- सरकारले विदेशबाट पहिलो चरणमा स्वदेश ल्याउनुपर्ने नागरिकको तथ्याङ्क सार्वजनिक गरेको छ ।

    गत शुक्रबारदेखि संयुक्त अरब इमिरेट्स (यूएई) र म्यानमारबाट कोरोनाका कारण अलपत्र अवस्थामा रहेका नागरिकलाई स्वदेश ल्याउन थाले पनि पहिलो चरणमा ल्याउनुपर्नेको तथ्याङ्क सोमबार मात्रै बाहिर ल्याएको छ ।

    सरकारले तोकेको प्राथमिकताको सूचीका आधारमा चार्टर्ड उडानमार्फत तत्काल २४ हजार १४८ नेपालीलाई स्वदेश ल्याउन लागेको छ ।

    विदेशस्थित नेपाली दूतावासले पहिलो चरणमा स्वदेश पठाउनैपर्ने नागरिकको विवरण परराष्ट्र मन्त्रालयलाई उपलब्ध गराएका छन् । सरकारले यसअघि विदेशबाट समस्यामा परेकालाई तत्काल स्वदेश ल्याउने भने पनि कुन देशबाट कतिलाई ल्याउने भनेर सङ्ख्या खुलाउन सकेको थिएन ।

    दूतावासबाट अहिलेसम्म उपलब्ध विवरणअनुसार सबैभन्दा बढी मलेसिया र खाडीका छ देशबाट लगभग २० हजार नागरिक पहिलो चरणमा ल्याउनुपर्ने अवस्था रहेको छ ।

    पहिलो चरणमा साउदी अरेबियाबाट छ हजार ६२४ जना, मलेसियाबाट छ हजार ४२५, कतारबाट तीन हजार ६०८ जना, संयुक्त अरब इमिरेट्स (यूएई)बाट ४१० जना, बहराइनबाट ३७२, ओमानबाट ६५६, कुवेतबाट दुई हजार ९९१ रहेका छन् । यस्त, अस्टेलियामा कोरोनाका कारण समस्यामा परेका एक हजार ३०० नेपालीलाई तत्काल ल्याउनुपर्ने भएको छ भने माल्दिभ्सबाट २७४ जना नेपालीलाई तत्काल ल्याउनुपर्ने भएको छ ।

    यस्तै नेपालीको आकर्षक रोजगारीको गन्तव्य मुलुक मानिने दक्षिण कोरियाबाट २८२ जना, साइप्रसबाट ४७१ जना र जापानबाट ९१६ जनालाई ल्याउनुपर्ने भएको छ । त्यस्तै कोरोनाका कारण बङ्गलादेशबाट १८० जना, पाकिस्तानबाट १२५ जना र श्रीलङ्काबाट ३६ जना ल्याउनुपर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । (गोरखापत्रबाट)

    प्रतिकृया दिनुहोस