• समाचार

    गगन थापालाई प्रधामन्त्री ओलीले संसदमै पढाए स्वास्थ्यसम्वन्धी यस्तो पाठ

      ओमकार टाईम्स


    प्रधामन्त्री केपी शर्मा ओलीले नेपालीमा रोग प्रतिरोधी क्षमता धेरै रहेकोबारे कारण र तर्क पेस गरेका छन् ।

    बुधबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिन उपस्थित भएका प्रमलाई नेपाली कांग्रेसका सांसद गगन थापाले नेपालीमा रोग प्रतिरोधी क्षमता धेरै रहेको भनेर कसले भनेको भन्दै प्रश्न गरेका थिए ।

    ठट्यौली जवाफ दिँदै प्रधानमन्त्री ओलीले त्यो आफूले नै भनेको बताए । ओलीले यसो भन्दा संसद हल हासोले गुञ्जिएको थियो ।

    उनले नेपालीको रोग प्रतिरोधी क्षमताको चुनौती कुनै डाक्टर, वैज्ञानिक, कुनै सोधकर्ताबाट आयो भने स्वीकार्ने बताए । उनले आधा नेपाली हिमाली भागतिर स्वच्छ हावापानी खाएर बसेको, उकाली ओराली हिँडेर पहाडका मान्छे बसेकोले इस्टामिना बलियो भएको बताए ।

    उनले नेपालको भूगोलबारे पनि प्रवचन दिँदै भने–‘यदी मरुभूमिबाट तातो हावा आएको छ भनेपनि हाम्रो हिमालमा पुग्नुभन्दा अगाडि नै चिसो भएर कायल भइसक्छ । हिमालसँग ठोक्किएपछि त्यो बरफ भएर पग्लिने क्रममा पुग्छ । त्यो फर्किएको हावामा सास फेरेका नेपालीहरु हुन् । यो देश झार उम्रियो भने यार्चागुम्बा भएर उम्रिने देश हो । यस देशमा ढुङ्गाबाट सिलाजित निस्किन्छ । यस देशमा माटो सिम्रिक हुन्छ । यो देश जडिबुटीको देश हो । औषधिको देश हो ।’

    उनले उकाली ओराली गर्दै अनेक परिश्रम गर्ने शारीरिक श्रम गर्ने देशका नागरिकमा रोग प्रतिरोधात्मक क्षमता हुने वैज्ञानिक कारण रहेको बताए ।

    नेपालमा परम्परादेखि नै योगको अभ्यास हुँदै आएको यो देशमा जहिलेदेखि योगाको सुरुवात भयो त्यही बेलादेखि नै रोगप्रतिरोध क्षमता रहेको पुष्टि हुने उल्लेख गरे ।

    यस्तै नेपाली भान्छामा पनि रोग प्रतिरोधी खाद्यवस्तु रहेको बताए । उनले भने–‘नेपालको भान्सामा पाउरोटीमा बटर दलेर खाने हैन, यहाँ दाल चामल, मकै भटमास अनेक चिज हुन्छ । बेसार अनिवार्य हुन्छ । नुन खुर्सानी, जिरा, धनिया, अदुवा, लसुन हुन्छ यी सबै औषधी हुन् । हरेक दिन औषधी खाएको नेपालीको रोग प्रतिरोध क्षमता हुने स्वत सिद्ध हुन्छ ।’

    उनले यो परम्परागत खाना, हाम्रो भान्छाको तरिकालाई जनतासम्म लैजानुपर्ने बताउदै पिज्जाभन्दा साग ढिडोलाई नै प्राथकिता दिनुपर्ने उल्लेख गरे ।

    प्रतिकृया दिनुहोस