• Uncategorized

    कालीगण्डकीमा टिपर खस्दा चालक बेपत्ता

      रासस

    बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ गुइठेभिरबाट कालीगण्डकीमा खसेर मङ्गलबार साँझ टिपरसहित चालक बेपत्ता भएका छन् । गिट्टी बोकेर गुइठेबाट घारतर्फ जाँदै गरेको बा२ख ३४२५ नंको टिपर सडक भासिएर कालीगण्डकीमा खसेको हो ।

    टिपरसहित चालक म्याग्दीको मङ्गला गाउँपालिका–५ का २६ वर्षीय ज्ञानबहादुर पुन कालीगण्डकीमा बेपत्ता भएको प्रहरी नायब उपरीक्षक किरणजङ्ग कुँवरले बताउनुभयो । साँघुरो सडकमा लोड भएको टिपरको टायरले टेकेको भाग भासिएपछि खसेको थियो । सो टिपर घारखोला जलविद्युत् आयोजनाको निर्माण सामग्री ढुवानीमा प्रयोग भएको थियो ।

    यसैबीच म्याग्दी र मुस्ताङको सिमानामा पर्ने बादरजुङ भिरमा सडक भासिएपछि बेनी–जोमसोम सडक फेरि अवरुद्ध भएको छ । यसअघि सडकको प्रवेशविन्दु राहुघाटमा गत शुक्रबार बाढीले बेलिब्रिज बगाएपछि सिधा यातायात बन्द भएको थियो । सडक अवरुद्ध हुँदा मुस्ताङ र म्याग्दीको अन्नपूर्ण तथा रघुगङ्गा गाउँपालिकाका बासिन्दालाई आवतजावत र ढुवानीमा समस्या भएको छ ।

    प्रतिकृया दिनुहोस