• देश

    निर्मला हत्यारालाई प्रधानमन्त्री र गृहमन्त्रीले लुकाए : डिला संग्रौला

     

    बुटवल। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला संग्रौलाले निर्मला पन्तका हत्यारालाई बालुवाटार र सिंहदरबारभित्रैबाट संरक्षण गरिएको आरोप लगाएकी छन्।

    पन्तका हत्यारालाई प्रधानमन्त्री र गृहमन्त्रीले लुकाएको आरोप लगाउँदै संग्रौलाले बालुवाटार भित्रैबाट संरक्षण गरिएकाले प्रहरीले पक्राउ गर्न नसकेको दाबी गरिन्।

    मंगलबार बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता संग्रौलाले सुरक्षा, सुशासन, शान्ति र समृद्धिको मुद्दामा सरकार पूर्णरूपमा असफल भएको दाबी गरिन्।

    ‘एउटी बालिकाको बलात्कार र विभत्स हत्या भएको ८ महिना बितिसक्दा पनि अपराधी पत्ता लगाउन नसक्ने सरकार नालायक र भ्रष्ट सरकार हो,’ नेता संग्रौलाले भनिन्।

    राष्ट्रिय सुरक्षा परिषद् विधेयकमार्फत् सरकारले संविधान उल्लंघन गर्न खोजेको र प्रधानमन्त्रीले ठूला परियोजना सञ्चालन गर्न खोज्नुमा भ्रष्टाचारको गन्ध मिसिएको उनको भनाइ थियो।

    नेता संग्रौलाले विप्लव नेकपालाई प्रतिबन्ध लगाएर सरकारले देशलाई मुठभेडतिर धकेल्न खोजेको आरोप लगाउँदै वार्ताबाटै समाधान खोज्नुपर्ने बताइन्।

    एक दशक बढी द्वन्द्वको भार खेपेको मुलुकले अब पनि द्वन्द्वको भार खेप्न नसक्ने भन्दै विप्लव नेतृत्वको नेकपालाई पनि वार्तामा आउन उनले आग्रह गरिन्।

    प्रमुख जिल्ला अधिकारलाई सुरक्षाको अधिकार दिन खोज्नु संविधान र संघीयताको मर्मविपरीत भएको उल्लेख गर्दै उनले प्रदेश र स्थानीय तहलाई अधिकार दिन कन्जुस्याइँ गर्न नहुने बताइन्।

    नागरिकता विधेयकका सम्बन्धमा उनले पुरुष सरह महिलाले नागरिकताको अधिकार पाउने गरी व्यवस्था हुनुपर्नेमा जोड दिइन्।

    प्रतिकृया दिनुहोस