• फिचर समाचार

    भ्रष्टाचार विरोधी कार्यालय प्रमुख सञ्जेलमाथि कार्यकक्षमै कुटपिट

      ओमकार टाईम्स

    विराटनगर । भ्रष्टाचार विरोधी छवि बनाएका श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि कार्यकक्षमै कुटपिट भएको छ । भ्रष्टाचारविरुद्ध खरो अभिव्यक्ति दिँदै आएका उपसचिव सञ्जेलमाथि शनिबार बिहान करिब ११ बजे कार्यकक्षमै कुटपिट भएको हो ।

    कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले दुई महिला कर्मचारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालालाई नियन्त्रणमा लिएको हो ।

    सञ्जेलमाथि टेबुलमाथि राखिएको विभिन्न सामानले प्रहार भएको प्रहरीले जनाएको छ । दुवैजना कार्यालयका करार कर्मचारी हुन् । एपसी खड्काले कुटपिटमा संलग्नलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए । कुटपिटबाट सञ्जेलको शरीरका विभिन्न भागमा चोट लागेको छ ।

    घटनाका प्रत्यक्षदर्शी एवं स्थानीय व्यापारी रेवतीप्रसाद अधिकारीका अनुसार सञ्जेल आइपुगेको केही बेरमा नेत्र र मेनुका पनि कार्यालय प्रवेश गरेर चुक्कुल लगाएर कुटपिट गरेका थिए ।

    कार्यालयका चालकलाई प्रमुखसँग आफूहरुको मिटिङ रहेको भन्दै कोठाबाट बाहिर निकालेर ढोकाको चुक्कुल लगाउँदै सञ्जेलमाथि आक्रमण गर्न थालेको पाइएको उनले बताए ।

    ‘घटना थाहा पाएर हामी वरपरका सबै छुट्याउन गयौं । सञ्जेल आफैले ढोकाको चुक्कुल चैं खोल्न भ्याएको पाइयो,’ उनले भने, ‘योजनावद्ध रुपमै आक्रमण भएको थियो, छुट्याउन नपुगेको भए अप्रिय घटना पनि हुन सक्ने अवस्था थियो ।’

    कुटपिटबाट सञ्जेलको अनुहारमा चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक उपरीक्षक सन्तोष खड्काले कुटपिट गर्ने कर्मचारी र सञ्जेलको विवादबारे बुझ्ने काम भइरहेकमे बताए ।

    प्रहरी स्रोतका अनुसार सञ्जेलसँग छलफल गर्नु छ भन्दै कार्यकक्षमा प्रवेश गरेका दुई जना कर्मचारीले काममा पेलेको र गालीगलौज गरेको भन्दै कुटपिट गरेको बताएका छन् । जिल्ला प्रहरी कार्यालयमा अहिले सोही विषयमा छलफल भइरहेको प्रहरी प्रवक्ता मानबहादुर राईले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस