• फिचर समाचार

    पशुपति मन्दिर दर्शन गर्ने नाममा हतियार सहित आएका भारतीय प्रहरी फिर्ता

      ओमकार


    मकवानपुर । हेटौंडा–४ मा रहेको भुवनेश्वर (पशुपति) मन्दिर दर्शन गर्न अनुमतिविना नै हातहतियारसहित पोशाकमै नेपाल आएका भारतीय प्रहरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएर फिर्ता पठाएको छ। भारतीय दुई असई र दुई प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएर सामान्य सोधपुछपछि भारत फिर्ता गरेको हो ।

    फाइल तस्वीर

    वीरगञ्ज नाकादेखि करिब एक दर्जन प्रहरी चौकी पार गरेर उनीहरु हेटौंडा आएका हुन् । शनिबार बिहानै पोशाकमा हेटौंडा आइपुगेका भारतीय प्रहरीबारे स्थानीयबासीले प्रहरीलाई खबर गरेपछि मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीहरुलाई पाेशाकमा हातहतियारसहित देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए ।

    हेटौंडा–४ मा रहेको पशुपति मन्दिरमा दर्शन गर्ने क्रममा मकवानपुर प्रहरीले भारतीय प्रहरीलाई शनिबार विहान करिब ७ बजे नियन्त्रणमा लिएको थियो । त्यसलगत्तै प्रहरी भ्यानमा राखेर पर्सा नाकाको नेपाल प्रहरीलाई जिम्मा लगाएर भारत फिर्ता पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले बताउनुभयो ।

    ‘अनुमति नलिई हेटौंडा आइपुगेका करिब आधा दर्जन भारतीय प्रहरीलाई हामीले नियन्त्रणमा लिएका थियौ’ डिएसपी भटराई भन्नुभयाे, ‘त्यसलगतै प्रहरी भ्यानमा राखेर बीरगञ्ज नाकास्थित नेपाल प्रहरीलाई जिम्मा लगाएर भारत फिर्ता पठाएका छौं।’

    पशुपति मन्दिर रक्सौलबाट ५८ किलोमिटर पर्छ । उनीहरूलाई सामान्य सोधपुछ गरी फिर्ता पठाइएको प्रहरीले जनाएकाे छ । उनीहरुले मन्दिर दर्शनपश्चात् खाजाखाने योजना बनाएका थिए । उनीहरुले गेष्टहाउसमा कोठा खोजेको बताइएको छ ।


     

    प्रतिकृया दिनुहोस