• कला/ साहित्य

    कविता : पण्डितनी बन्छौ ? आउ !

      शार्दूल

    म माथि तिमीले अन्याय गरेकी छैनौ
    मेरो मरेको दिमाग उघारेकी छौ |
    यसरी मरेको दिमाग की यसको प्राणको पत्तो मसँग नी थिएन |
    तिमी आयौ, नखरा देखायौ, फकाउन सिकायौ, धेरै धड्कायौ

    कम्पन यसरी बढ्यो कि यो बन्द दिमाग तिम्रो थर्काइले थर्कियो
    अनाहकमा खुम्चियो, तन्कियो र उघ्रियो |

    तिमीलाइ थाहा छैन कि म हरेक कणकणमा के महशुष गर्छु |
    हरेक पलका सम्झना कसरी ग्रहण गर्छु र
    हरेक निमेषका उत्साह कसरी प्रयोग गर्छु |
    किनकी
    हिजोआज बहुत थोरै समय मात्र म मेरो बारे सोच्छु |

    तिम्रो मुस्कानको गुन्जनमा आजकल गोब्रे किराको पट्यारलाग्दो झिँझिँ पनी राम्रो लाग्छ |
    दाम्लो चुँडाएर कुनै भैँसी बड्किँदा तिमीले म:म कसरी चपाउँदिहोली भन्ने कल्पन्छु |
    कहिलेकाहिँ जिन्दगीले पेट बटारेको बेला मेरो
    तिमी त राम्री छौ, राम्री कन्यालाइपनि डकार जस्तो खराब चिज आउँदो होला र ?
    सोच्छु |

    आफ्ना हातमा डाबर देख्दा लाग्छ कि
    तिमीलाइ त लामखुट्टेले टोक्दैन होला है ?
    कि टोक्छ ?
    राम्री मान्छेलाइ नी लामखुट्टेले टोक्छ र ?

    हरेक बिहान मुख धुँदा हेर्छु
    आँखामा किचिक्क कचेरा थुप्रिएका |
    साँच्चै सुन्दरी तिम्रो त आँखामा कचेरा नि नहुँदो हो
    नाकमा सिँगान नी नहुँदो हो |
    किनकी तिमी त राम्री हौ नी |

    तिम्रो आँखीभौँ बिचको कोठीको अर्थ के होला ?
    लाग्छ कि तेती कुरामा पनी म महाकाब्य जन्माउन सक्छु
    तिमीलाइ क्लियोपेट्राको उपाधी दिलाउन सक्छु |
    तिम्रो सामु प्रश्न के गरौँ म
    दुनियाँले युगौँसम्म नदेखेको भुकम्प खेप्नुपर्ला
    फेरी अर्को धरहरा भत्किएला झैँ लाग्छ र चुप लाग्छु |

    म छु र त तिम्रो धम्की छ
    म छु र त तिम्रो नखरा छ
    म छु र त तिम्रो थर्काइ छ
    म छु र त तिम्रो रजाइँ छ |
    म छु र त तिम्रो घुर्की छ
    म छु र त तिम्रो सन्काइ छ
    म छु र त तिम्रो रिस छ
    म तिमीले रिस खन्याउने भाँडो हुँ र त अरुले तिम्रो मुस्कान देख्न पाएकाछन् |
    म नभएको दिन न त तिमी रहन्छौ

    तिमी नरहेको दिन न म रहन्छु |

    म सहन्छु यि सबै |
    सँधै गुलियो पाएँभने मधुमेहले मर्छु भन्ने डर हुन्छ
    कहिले तितो, कहिले मिठो |
    सब्जी चर्को हुँदा मैले नी थर्काउने दिन आउला
    भात डढ्दा मैले नी हप्काउने दिन आउला
    मोजा नभेटेको बेला मैले नि चिच्याउने दिन आउला |
    म जातैले जमदार हुँ |

    यो समाजमा एउटी नारिले कति कष्ट भोग्नुपर्छ त्यो मलाइ थाहा छ
    त्यसैले
    तिमीले दिने यि झिना तनाब मेरालागि केहि हैनन्
    ति घुर्की केहि हैनन्
    ति धम्की केहि हैनन्
    ति ठुस्काइ केहि हैनन्
    ति आक्रोश केहि हैनन्
    ति थर्काइ केहि हैनन् |
    यि कारणले मभित्र बितृष्णा कहिल्यै उम्रिने छैनन्
    न त तिमीप्रती प्रतिशोधको भाव नै हुनेछन् किनकी
    इश्वरले स्त्रीको रुपमा तिमीलाइ थोपरेका कष्ट आँफैमा ठुला छन् |

    तातो बालुवामा हिँडेर लखतरान भएको बेला
    मृगतृष्णाले झुक्याउँदै झुक्याउँदै अली परसम्म ल्याएपछी भेटिएका कुवा
    र चिसो कलकल पानी पिउने बटुवाले बरु केहि जिन्दगी बाँचेको हुन्छ |
    हातमा ठेउला उठेर फुटेका दाउरेहरुले केहि जुनी बाँचेका हुन्छन् |

    मलाइ फोटो इडिटरले उज्याली बनाएकी तिमी भन्दा
    गालामा तपतप पसिना चुहिरहेकी तिमी मनपर्छ |
    चिसोमा बसेर गोरी भएकी तिमी भन्दा
    त्यो निधारका कुनामा उम्रिएका बुरुरु साना फोका पसिना मनपर्छ |
    दुनियाँ घसेर र वाक्सिङ् गरेका नाडी भन्दा
    दाउरा र झिक्राले कोरिएका नाडी मनपर्छ |

    किन थाहा छ ?
    किनकी म फोटो इडिटरलाइ हैन तिमीलाइ विश्वास गर्छु
    म पाउडरको हैन पसिनाको सुगन्धको सम्मान गर्छु |
    म भ्यासेलीन हैन, मेहेनतमा चिरिएका तिम्रा कुर्कुच्चा सुम्सुम्याउँछु |
    हो
    तिमीलाइ थाहा छैन म कृतिम सँसारको बिरुद्ध छु |
    म बास्तबिकताको पुजारी हुँ | म बास्तबिकताको पण्डित हुँ |
    पण्डित्नी बन्छौ ?
    आउ |

    आउ |
    मिलेर रोटी बटुलौँ |
    म प्राप्तीका टपरी सार्दिन्छु तिमी बोरामा खन्याउनु
    मेहेनतका साना सिक्का खन्द्र्याङ् खन्द्र्याङ् पार्छु तिमी सम्पती सम्हालेझैँ सुर्के थैलीमा गन्दै राख्नु
    अनी
    सफलताका बोरा बोकेर भर्खर भेटीएका दौँतरीजस्तो गफिँदै गफिँदै फर्कौँला |
    मरि लानु के छ र !

    तिमीलाइ थाहा छ: भुक्के चप्पल पड्काउँदै हिँड्नुको मजा बेग्लै हुन्छ |
    किनकी त्यो पड्काइमा कमसेकम रहरका ध्वनी हुन्छन् |
    म त सोच्छु कि कतै बिकट ठाउँमा पुगौँ र सिटामोलको गाथा सुनाऔँ
    सबैका मुख ट्वाँ रहुन् मेरा कुराले |
    मैले साँच्चै टिम्बरल्याण्ड ब्राण्ड छोडेर हात्तीछाप चप्पल रोजेँ भने लगाउँछौ नी हैन ?
    ३ घण्टा उकालो हिँड्नुपर्ने ठाउँ रोजेँ भने जान्छौ नि हैन ?
    सँगै हुन्छौ ?
    उसोभए आउ |

    एक जोर कपडा बोक, बुरुश बोक, कपाल बाँध्ने रबर र क्लिप बोक आउ
    त्यो छोड्देउ| ऐनापनी परेन मेरैमा छ|पाउडर लिपिस्टिक सप्पैछ यहाँ|
    हत्तेरीका छिटो गरन |
    आउ |
    आउ आउ |

    प्रतिकृया दिनुहोस