• फिचर समाचार

    मोदीको सपथ ग्रहण कार्यक्रमका लागि ओली उडे दिल्ली

      ओमकार


    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय समकक्षी नरेन्द्र मोदीको सपथ कार्यक्रममा सहभागी हुन भारत प्रस्थान गरेका छन् ।

    बिहीबार साँझ साढे ७ बजे नयाँदिल्लीमा हुने सथपग्रहण कार्यक्रममा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै ओली बिहीबार त्यसतर्फ लागेका हुन् ।

    प्रधानमन्त्री ओलीसँग पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास बैरागी र परराष्ट्रको दक्षिण एसिया डिभिजन प्रमुख यज्ञ हमाल दिल्ली गएका छन् ।

    बिहीबार राष्ट्रपतिभवनमा संविधानसभा सदस्यलाई सम्मान कार्यक्रममा सहभागी भएपछि प्रधानमन्त्री ओली दिल्ली प्रस्थान गरेका हुन् । दिल्लीबाट प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा नेपाली राजदूत नीलाम्बर आचार्य र उपनियोग प्रमुख भरतराज रेग्मी पनि सपथ कार्यक्रममा जानेछन् ।

    प्रधानमन्त्री ओलीले शुक्रबार समकक्षी मोदीसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । साथै शुक्रबार नै स्वदेश फर्किने कार्यक्रम रहेको जनाइएको छ ।

    भारतीय प्रधानमन्त्रीको सपथ कार्यक्रममा नेपालसहित विम्स्टेक राष्ट्रका प्रधानमन्त्रीलाई निमन्त्रण दिइएको छ । सो कार्यक्रममा करिब ६ हजारदेखि ८ हजार पाहुना उपस्थित हुने सक्ने जनाइएको छ ।

    कार्यक्रममा केही दिनअघि मात्रै पश्चिम बंगालमा भएको चुनावी हिंसामा मारिएका भारतीय जनता पार्टीका कार्यकर्ता चन्दन सावकी पत्नी पनि सहभागी हुँदैछन् । त्यस्तै प्रगतिशील गठबन्धनकी अध्यक्ष सोनिया गान्धी तथा भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धी पनि सहभागी हुनेछन् ।


     

    प्रतिकृया दिनुहोस