• समाचार

    कोरोना जितेका व्यक्तिद्वारा प्लाज्मा दान अभियान सुरु

      ओमकार टाइम्स

    कोभिड-१९ संक्रमणबाट निको भएका व्यक्तिहरूले प्लाज्मा दान अभियान सुरु गरेका छन् । कोभिड-१९ संक्रमणबाट निको भएपछि प्लाज्मा दान गरी थप चार जनासम्म संक्रमितको जीवनरक्षा गर्न सकिने भन्दै संक्रमण निको भएका व्यक्तिले बुधबारदेखि प्लाज्मा दान अभियान सुरु गरेका हुन् ।

    काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा पुगेर कोभिड-१९ संक्रमण निको भएका व्यक्तिहरूले प्लाज्मा दान अभियानको सुरुवात गरेका हुन् । उनीहरूले ‘मैले जितेँ कोरोना, म गर्छु (प्लाज्मा) रक्तदान’ भन्ने नारासहित प्लाज्मा दानको अभियानलाई अगाडि बढाएका छन् ।

    कार्यक्रममा त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले कोभिड-१९ संक्रमणबाट मृत्युसँग लडिरहेका बिरामीको जीवन बचाउन प्लाज्मा थेरापिले मद्दत गर्ने भएकाले प्लाज्मा दान अभियान सुरु गरिएको बताए । प्लाज्मा संकलनका लागि अस्पतालमा प्लाज्मा बैंकको स्थापना गरिएको पनि उनले बताए ।

    कार्यक्रममा कोभिड-१९ संक्रमणबाट निको भएका व्यक्तिले संक्रमितको आत्मबल बलियो भए सजिलै भाइरसलाई जित्न सकिने बताए । उनीहरूले संक्रमणबाट गम्भीर अवस्थामा पुगेका बिरामीको उपचारका लागि प्लाज्मा थेरापि महत्त्वपूर्ण हुने भएकाले आफूहरूले प्लाज्मा दान अभियानको सुरुवात गरेकाे बताएका छन् । ‘मिल्नेले दान गरौँ, नमिल्नेले उत्प्रेरित गराैँ, सबै लागौँ, सँगसँगै लागौँ’ भन्दै अभियान सुरु गरिएको  अभियानका संयोजकमध्येका प्रकाश भुजेलले बताए ।

    पछिल्लो समय प्लाज्मा थेरापिबाट कोभिड-१९ संक्रमितको उपचार देशका धेरै अस्पतालले गरिरहेका छन् । सरकारले पनि परीक्षणको रूपमा बिरामीको स्वीकृति लिएर उपचार गर्न सक्ने व्यवस्था गरेको छ । त्यसैले संक्रमण निको भएका व्यक्ति पनि प्लाज्मा दिएर संक्रमणसँग लडिरहेका बिरामीको जीवन रक्षा गर्ने अभियानमा जुटेका हुन् । यो अभियानलाई देशैभर सञ्चालन गर्ने पनि उनीहरूले बताएका छन् ।

    प्रतिकृया दिनुहोस