• देश

    नेपालबाट मनसुन बाहिरिएसँगै चिसो बढ्ने क्रम सुरु : केही ठाउँमा हल्का कुहिरो

      ओमकार टाईम्स

    काठमाण्डौ – नेपालबाट मनसुन बाहिरिएसँगै चिसो बढ्ने क्रम सुरु भएको छ ।

    दिउँसो चर्को घाम लागेको बेला गर्मी नै भए पनि बिहान बेलुका भने चिसो हुन थालेको हो । न्यूनतम र अधिकतम तापक्रम अब बिस्तारै घट्दै जाने र चिसो बढ्दै जाने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्‍जु बासीले जानकारी दिनुभयो ।

    काठमाण्डौ उपत्यकाको आज बिहान ६ बजेको तापक्रम १६ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । अहिले काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा हल्का कुहिरो लागेको छ । कुहिरो बिस्तारै हट्दै जाने र घाम लाग्ने मौसमविद् बासीले जानकारी दिनुभयो ।

    आज प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बद्ली तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बद्ली रही अरु ठाउँमा सामान्यतया मौसम सफा रहनेछ । अहिले कुनै पनि मौसमी प्रणाली नदेखिएकाले अबको केही दिन सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    यो वर्ष गएको जेठ ३० गते नेपाल प्रवेश गरेको मनसुन चार महिनापछि असोजको ३० गते बाहिरिएको थियो ।

    प्रतिकृया दिनुहोस