• समाचार

    चिनी उद्योगका सञ्चालकविरुद्ध पक्राउ पुर्जी, प्रहरी परिचालन

      ओमकार टाईम्स

    काठमाडौं : गृहमन्त्रालयको निर्देशनसँगै उखु किसानको भुक्तानी नदिने चिनी उद्योगका सञ्चालकलाई पक्राउ गर्ने तयारी गरिएको छ । रौतहटको श्रीराम सुगर मिलका तीनजना सञ्चालकविरुद्ध पक्राउ पुर्जी नै जारी भएको छ ।

    उच्च प्रहरी स्रोतका अनुसार श्रीराम सुगर मिलका सञ्चालक हितेश गोल्छा, विशाल अग्रवाल र पदमकान्त झाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । तीनै जना काठमाडौंमा बस्दै आएको बताइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी प्रमेश विष्टका अनुसार रौतहट प्रहरीको पत्रका आधारमा उनीहरुको खोजी कार्य जारी छ ।

    रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिलले उखु किसानको करौडौं रुपैया बक्यौता भुक्तानी नगरेपछि उखु किसानले रौतहट प्रहरी कार्यालयमा उजुरी गरेका छन् । उखु किसानहरु भुक्तानीको माग गर्दै काठमाडौँमा केही दिनदेखि प्रदर्शन गर्दैआएका छन् । प्रर्दशनकै क्रममा गृह मन्त्रालयले भुक्तानी नदिने चिनी मिलका सञ्चालकलाई पक्राउ गर्न जिल्ला प्रशासन र प्रहरीलाई निर्देशन दिएको थियो ।

    गृहकै निर्देशन कार्यान्वयनका क्रममा रौतहट प्रहरीले श्रीराम सुगर मिलका सञ्चालक काठमाडौँमा बस्दैआएकोले खोजतलासका लागि काठमाडौँ प्रहरीलाई पत्राचार गरेको थियो । काठमाडौं महानगरी प्रहरी परिसरबाट प्रहरी टोलीले तीनै सञ्चालक बसोबास गर्ने स्थानमा खोजतलास गरे पनि फेला पार्न नसकेको परिसरमा प्रहरी उपरीक्षक अशोक सिंहले बताए ।

    प्रतिकृया दिनुहोस