• मुख्य

    गौरादह ७ समस्यै समस्याको वार्ड , समाधान कहिले ?

      सान नेपाल

     

    झापा: भ्रस्टाचार र अनियमितताको आरोप झेल्दै आएको गौरादह नगरपालिकामा बिकास निर्माणका कार्य संतोषजनक नरहेको भन्दै स्थानीयबासीहरु कडा आरोपमा उत्रिन थालेका छन् । नगरपालिका बनेपछि उत्साहित बनेका नगरबासीहरु स्थानीय सरकार बनेको ४ वर्ष पुग्नै लाग्दा समेत जनप्रतिनिधिले सिन्को नभाचेको बताउछन् । भएका बिकासे काममा समेत ढिलासुस्ती, अनियमितता र भागबन्डा मात्र हुने गरेको भन्दै आक्रोश व्यक्त गरिएको हो ।

    गौरादह ७ ग्वालडुब्बा चोक बाट करिब २ किलोमीटर भित्र रहेको सुब्बा होली अर्थात कन्याबारी आसपासका नगरबासीलाइ बिकास कस्तो हुन्छ अनुभव छैन । असार श्रावणमा भेलबाढी आउदा उनिहरु पौडिएर ग्वालडुब्बा चोक सम्म आउनु परेको तितो अनुभव छ ।

    सुब्बा होली नजिकै घर भएकी बहुप्रतिभा भएकी अन्जली मगर दमक बहुमुखीमा स्नातक तह अध्ययन गर्दैछिन् । प्रत्येक पटक आउने पानी झरीमा उनी त्रसित हुन्छिन् । आफू सानो हुँदा लुगा कपडा र ब्याग टाउकोमा बोकेर घाँटी सम्म पानी आउने सुब्बा होली तर्नु परेको तितो अनुभव उनी कहिले बिर्सिन सक्दिनन् ।

    ‘त्यो बेला उनि तीन कक्षामा पढ्थिन् । रातभर अविरल परेको पानीले नाउ चलाउन मिल्ने गरि उर्लिएर आएको सुब्बा होली देखेर छक्क परिन्, परिक्षा हुँदै गरेकोले बिद्यालय जानैपर्ने बाध्यतामा पनि थिइन् अञ्जली । तर पारी तर्ने कसरी ?

    ‘ममीले काधमा बोक्नु भयो र निकै कष्ट साथ घाँटी घाँटी पानीमा तरेर पारी तारिदिनु भयो’,’ यो प्रक्रिया एक दिन मात्र होइन कहिलेकाही ३ महिना सम्म चल्दथ्यो ।’, अञ्जलीले अनुभव सुनाइन् ।’ठुली हुँदै गए पछि म आफैं बानी परें, साथीहरुको हात समातेर वारि पारी गरिन्थ्यो।’ बाल्यकालको सम्झना गर्दै उनले सुब्बा होलीको बारेमा बताइन् ।

    सुब्बा होलीको समस्या भोग्ने अन्जु मगर जस्ता बिद्यार्थीहरु धेरै छन् । डाडा टोल, कन्याबारी, त्रेवेणी टोल लगायतका गाउँबाट प्रगति मा. वी. पढ्न आउने करिब ३ सयको हाराहारीमा रहेका बिद्यार्थीहरुको साझा समस्या हो सुब्बा होली ।विद्यार्थी मात्र होइन स्थानीयबासीको दिनचर्या एकदमै कष्टकर रहेको पुष्टि हुन्छ उनीहरुले व्यक्त गरेको भनाइबाट ।

    समृद्धिको न्युनतम मापदण्डमा पर्ने बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्य र यातायात नै हुन भन्ने कुरा स्थानीयले नबुझ्ने कुरै भएन तर दु:खद पक्ष नै मान्नुपर्छ ग्वालडुब्बा चोकको ठ्याक्कै पछाडि पट्टी रहेको यस क्षेत्रमा बसोबास गर्नेहरूले बिकासका आधारभुत कुराहरू संग खासै अनुभव गर्न पाएका छैनन् भन्दा आश्चर्य के नै हुन सक्ला र ? कलबर्ट मात्र होइन सडक स्तरोन्नति समेत नरहेको उक्त स्थानमा बर्खामा हिल्लाम्मे सडकमा लड्दै पड्दै यात्रा गर्नु पर्छ । विद्यार्थीलाई प्रगति मा वी पुग्न ठ्याक्कै १ घण्टा लाग्ने गरेको छ ।अन्जली मगर भन्छिन् , ‘ यहाँ दुर्घटना भएको त कति देखिन्छ कती, भनी साध्ये नै छैन ।’

    बिजुली बत्तिका पोल समेत बिस्तार हुन नसके पछि स्थानीयले आफ्नै पहलमा विद्युत प्राधिकरणलाई गुहारेर भर्खरै लाइन विस्तार गर्न सकेका छन् । ‘धिपिक्क बत्ति बल्दा मन हर्षित हुदो रहेछ।’, स्थानीय एक बृद्धले भने ‘सबै कुरा बाट बन्चित हुनुपर्दा जनप्रतिनिधि नै नभएको जस्तै लाग्छ’, उनै बृद्धले थपे ।

    ग्वालडुब्बा बजारमा स्थायी बसोबास गर्ने बिपिन्द्र दाहाल सोहि स्थानमा कृषि फार्म खोल्ने योजना साथ अगाडी बढेका छन् । स्नातकोत्तर सम्म अध्ययन गरेका उनलाई कृषि पेशामा लागेर गाउँलाई विकासमा अगाडी बढाउनु छ । तर विडम्बना नै भन्नू पर्छ उनको फार्महाउस निर्माण स्थल सम्म जाने गरि बिजुलिका पोल समेत छैनन् । स्थानीय समाजसेवीको पहलमा छिमेकी टोल तिर बिजुलिका पोल ठडिएको बताउने दाहाललाई जनप्रतिनिधि संग भने पटक्कै विश्वास छैन । ‘धेरै पटक जानकारी गराउदा समेत आट को पाट नचल्ने जनप्रतिनिधि बाट के अपेक्षा गर्नु र ?’, बिजुलि बाल्न समेत नपाएको गुनासो गर्दै कृषक दाहालले सुनाए ।

    ‘बिजुलि, खानेपानी र सडक जस्तो अत्यन्तै आवस्यक बिषयमा तुरुन्तै पहल हुनुपर्ने भन्दै उनले सम्बन्धित निकाय संग पहल गरिदिन आग्रह गरेका छन् ।

    ह्युम पाइपहरु सडकमै अलपत्र

    सुब्बा होलीबासी मात्र होइन डाडा टोल र यस आसपासमा रहेका सडकका ठाउँ ठाउँमा ह्युमपाइपहरु अलपत्र परेको देखिन्छ । गतवर्ष नै झारिएका ह्युमपाइपहरु कहिले प्रयोगमा ल्याइने हो त्यो भने स्थानीयलाई कुनै जानकारी नै छैन । सडक स्तरोन्नति नहुदा बर्षादमा अत्यन्तै कष्टकर जीवन विताउन बाध्य यस क्षेत्रका जनताले कहिले शान्तिको श्वास फेर्न पाइन्छ भनेर प्रतीक्षा गरेको धेरै भएको छ ।


    आफ्नो घर अगाडी सडक ग्राबेल गरिएको विषयमा स्थानीय सरस्वती पोख्रेल भन्छिन् , ‘यहाँनेर पोहोर साल सडकमा वडाले ढुंगा हाल्ने काम गर्यो तर रोलरको अनुहार देखिएन ।’

    सडक स्तरोन्नति शिर्षकमा तीन वटा बजेट निकासा भएको पाइएको छ । सोही बजेट बाट १० लाख, ४ लाख र २ लाखको लगानीमा स्तरोन्नति गरिएका सडकहरू अधुरै छन् । झारो टार्न मात्र निर्माण गरिएको तथा रोलर नै नलगाएको भन्दै स्थानीयले कडा आपत्ति समेत प्रकट गरेका छन् ।

    सीता डागी डाडाटोलबासी महिला हुन् । पेशाले कृषक रहेकी डागीलाई घर र खेतिको काममा भ्याइनभ्याई हुन्छ। अघिल्लो असारमा उनले घर अगाडीको सडकमा ढुंगा झारेर तामझाम गरेको राम्रै देखिन् तर रोलरले सम्याएको भने उनले देखिनन् ।

    राज्यले दिएको पैसामा अनियमितता नै भएको र बिकासको नाममा छारो मात्र हालिएको भन्दै स्थानीयको व्यापक गुनासो छ ।त्यसो त टोल बिकास संस्था पनि छन् तर बिकासको गतिविधि सञ्चालन गर्ने नभएर पार्टीका गतिविधिमा मात्र लाग्ने । वडाको निर्देशनमा गठन भएका टोल बिकास संस्थामा पनि एकपक्षीय व्यक्तिहरु मात्र समेटिएको स्थानीयको आरोप छ । लोकतान्त्रिक पद्धतिको अनुसरण गर्नुपर्नेमा पुर्व योजना सहित वडा अध्यक्षले औंलामा गनेकाहरुले मात्र टोल बिकास संस्थामा मौका पाउने गरेको भन्दै बिकास निर्माण शिर्षकमा मिलिभगत हुने गरेको यस क्षेत्रका वासिन्दाको तिब्र असन्तुष्टि रहेको पाइन्छ ।

    दुधाली बजारमा बजेट खोइ?

    यसै वडा भित्रको निकै पुरानो र ऐतिहासिक बजार मानिन्छ दुधाली बजार । जननिर्वाचित प्रतिनिधि आएको ४ वर्ष पूरा हुनै लाग्दा समेत यस बजारले सरकारी रकम कस्तो हुन्छ देख्न पाएको छैन । बिकासको तामझामले दुधाली बजार लाई छुन नसक्नुमा वडा कार्यालय नै मुख्य जिम्मेवार रहेको उनीहरुको आरोप छ । अहिलेसम्म गुरु योजना समेत किन गरिएन भन्दै दुधालीबासीहरु अत्यन्तै चिन्तित देखिएका छन् ।’सरकारले चासो नराखेपछी स्थानीयले मात्र चिन्ता गरेर मात्र के गर्नु र?’ दुधाली बजारका एक वासिन्दाले प्रती प्रश्न गर्दै चिन्ता व्यक्त गरे ।


    दोश्रो स्थानीय निर्वाचनको मिति नजिकिदै गर्दा जनप्रतिनिधि प्रती नागरिकहरुको असन्तुष्टि वढ्दै गएको पाइन्छ । गाँस वास र कपासको न्युनतम आवस्यकता परिपुर्ति गर्दै दिगो बिकासमा लाग्नु पर्ने आवस्यकता हुँदा हुँदै स्थानीय सरकार संचालक भने जनतामा ठोस कार्यक्रम दिन नसकेर आरोपको भारी बोक्नै व्यस्त देखिन्छन् । यस्तो परिस्थितिले लोकतान्त्रिक पद्धतिलाई नै असफल पार्ने खतरा चौतर्फी देखिएको भन्दै स्थानीयले लोकतन्त्रको औचित्य समाप्त भइसकेको बुझ्न थालेका छन् ।

    सातामा दुइ पटक हाट लाग्ने यस बजारमा फोहोरको उचित व्यवस्थापन समेत नभएको पाइन्छ । पशु चौपायाको चरण स्थल मात्र भएको यस बजारमा हटियाको दिन बाहेक अन्य दिन गाई बस्तु बाख्रा कुखुरा देखि लिएर सुँगुर बंगुर समेतको कृडा स्थल भएको स्थानीयले गुनासो गरेका छन् ।

    यस सम्बन्धमा थप सामाग्री फलोअप रिपोर्टमा पुन: प्रकाशन गरिने छ ।

     

    प्रतिकृया दिनुहोस