• अर्थ

    बैंकका प्रबन्धकसहित पाँच जनाविरुद्ध बैंकिङ कसुर आरोप मा पक्राउ

      ओमकार टाईम्स

    काठमाडौं । बैंकिङ कसुर मुद्दामा महालक्ष्मी विकास बैंकका विभिन्न शाखा कार्यालयका प्रबन्धक र पूर्वप्रबन्धकलाई आइतबार पक्राउ गरेको छ । उक्त कसुरमा ऋणी र बैंकका शाखा प्रबन्धकसहितका व्यक्ति संलग्न रहेको खुलेको छ ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकका विभिन्न शाखा कार्यालयका प्रबन्धक र पूर्वप्रबन्धकलाई बैंकिङ कसुर मुद्दामा स‌ं‌लग्न पाइएपछि आइतबार पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–९ गौशाला बस्ने तत्कालीन बैंकका शाखा प्रबन्धक स्मृति राना, कास्की पोखरा घर भई चन्द्रागिरि बस्ने शाखा प्रबन्धक पिङ्कु पालिखे र मोरङको विराटनगर घर भई ललितपुर बस्ने शाखा प्रबन्धक अनिशसिंह सिँजापति रहेको ब्यूरोले जनाएको छ। उनीहरुले ऋणीसँगको मिलेमतोमा कम तौलका सुनका गरगहना बढी तौलको देखाई अत्यधिक मूल्याङ्कन गरी बढी ऋण लिएको र हालसम्म सावाँब्याज नतिरेको खुल्न आएको ब्यूरोका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए।

    उनीहरुले बैंकलाई रु सात करोड ४२ लाख ६१ हजार नोक्सानी पुर्याएको जनाइएको छ। अनुसन्धानका सिलसिलामा ऋणीलाई गत मङ्सिर २६ गते पक्राउ गरिएको थियो । पक्राउ पर्ने ऋणीमा खोटाङका पूर्ण राई, देवानन्द राई र धनकुटाका सन्दीप लिम्बू रहेको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस