• समाचार

    निर्मला हत्या प्रकरणमा बर्खास्त गरिएका एसपीलाई पुनर्बहाली गर्ने मन्त्रिपरिषदको निर्णय

      ओमकार टाईम्स

    काठमाडौं । सरकारले निर्मला हत्या प्रकरणमा बर्खास्तीमा परेका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टलाई सेवामा फर्काउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विष्टलाई दुई वर्ष अघि गरिएको कारबाही बदर गर्दै पुनर्बहाली गर्ने निर्णय गरेको हो ।

    प्रहरी महानिरीक्षक समेतको टोलीले स्थलगत अध्ययन गर्दा कर्मचारीबाट चरम लापरबाही र गैरव्यवसायिक कार्य भएको देखिएको भन्दै विष्ट र प्रहरी निरीक्षक जगदिश भट्टलाई ८ कात्तिक २०७५ मा बर्खास्त गरिएको थियो । उक्त प्रकरणमा निलम्बनमा परेका तत्कालीन डीएसपी अंगुर जिसी लगायत यसअघि नै सेवामा फर्किइसकेका छन् । ११ साउन २०७५ मा कञ्चनपुरमा बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । प्रकरणको अनुसन्धानमा प्रहरीले लापरबाही गरेको आरोप लागेको थियो ।

    प्रहरी अधिकृतहरुविरुद्ध यातना र प्रमाण नष्ट गरेको भन्दै जिल्ला अदालत, कञ्चनपुरमा मुद्दासमेत परेको थियो । तर, अदालतले प्रहरीकै पक्षमा फैसला गरेको थियो । त्यसपछि कारबाहीमा परेका अधिकृतहरुलाई पुनर्बहाली गर्न थालिएको छ । प्रकरणका आरोपित भने अझैसम्म पक्राउ पर्न सकेका छैनन् ।

    प्रतिकृया दिनुहोस