• समाचार

    प्रदेश २ संसदीय दलका नेता मण्डलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

      ओमकार टाईम्स

    जनकपुरधाम : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएसँगै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले प्रदेश २ को प्रदेश सभामा संसदीय दलका नेता रहेका सत्यनारायण मण्डललाई हटाउने तयारी गरेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली पक्षबाट नेकपा संसदीय दलका नेता बनेका मण्डललाई दलको नेताबाट हटाउने तयारी गरिएको प्रचण्ड(नेपाल समूहका प्रदेश सभा सदस्य शत्रुघन महतोले जानकारी दिए । प्रदेश २ मा नेकपाका ३२ जना प्रदेश सभा सदस्य छन् । यसमध्ये २० जना आफ्ना पक्षमा रहेको प्रचण्ड(नेपाल समूहको दाबी छ ।

    ‘दलका नेता मण्डलविरुद्व अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ,’ सांसद शत्रुघन महतोले भने, ‘आइतबार बैठक बसी उनलाई पदबाट हटाइनेछ ।’ कुल ३२ जना सांसदमध्ये १७ जना सांसदले हस्ताक्षर गरी दलका उपनेता रामकुमार यादवसमक्ष मण्डलविरुद्व अविश्वासको प्रस्ताव दर्ता गराइसकिएको उनले जानकारी दिए ।

    ‘अविश्वासको प्रस्ताव दर्ता गराउन एक चौथाइ आवश्यक पर्छ तर हामीले आधाभन्दा बढी सांसद हस्ताक्षर गरिसकेका छौं,’ महतोले भने । आइतबार बस्ने संसदीय दलको बैठकमा अविश्वास प्रस्ताव दर्ता हुने र नेता मण्डलले त्यसमा फेस गर्न नसके तत्कालै हटाइने महतोले बताए ।

    नेकपा प्रदेश २ का अध्यक्ष तथा सहरी विकास मन्त्री प्रभु साहले बुधबार वीरगञ्जमा प्रदेश २ को भेला गरेका थिए । ओली समूहमा लागेका साहले आयोजना गरेको त्यस भेलामा मण्डल सहभागी भएका थिए । उनीसँगै प्रदेश सभा सदस्य रामचन्द्र मण्डल र ज्वालाकुमारी साह पनि सहभागी भएका थिए । कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री विष्णुप्रसाद पौडेल थिए ।

    प्रतिकृया दिनुहोस