• समाचार

    पार्टीको वैधानिकता आयोगबाट होइन जनताबाट प्राप्त हुन्छ : प्रधानमन्त्री ओली

      ओमकार टाईम्स

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आधिकारिक भएको दावी गरेका छन् । अंग्रेजी नयाँ वर्षको अवसरमा प्रवासी नेपाली एकता मञ्चहरुले संयुक्त रुपमा आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीको वैधानिकता निर्वाचन आयोगबाट नभई जनताबाट प्राप्त हुने बताएका हुन् ।

    उनले निर्वाचन आयोगमा एउटा निवेदन दिँदैमा वैधानिकता प्राप्त नहुने बताए । ‘कसैले एउटा चिर्कटो निर्वाचनमा आयोगमा पुर्‍याउँदैमा वैधानिकता प्राप्त हुँदैन’, ओलीले भने, ‘उहाँहरु (प्रचण्ड-माधव नेपाल) वैधानिकताको निवेदन बोकेर निर्वाचन आयोग जानुभएको छ, हामी वैधानिकताको दर्खास्त हाल्न निर्वाचन आयोग गएका छैनौँ ।’ उनले आफूहरु कहाँ छौँ भन्ने कुरा जनताले देखेको भन्दै प्रचण्ड-नेपालहरु सडकमा छातीमा कागज टाँसेर यहाँ छौँ भन्ने अवस्थामा आइपुगेको बताए । ‘हामी आधिकारिक हौँ, त्यसैले हामी यहाँ छौँ भनेर कागज छातीमा कागज टाँसेर बस्नुपर्ने अवस्थामा छैनौँ’, उनले भने, ‘उहाँहरु सडकमा बस्नु पर्ने अवस्था आइसकेको छ ।’ उनले आफूहरु आधिकारी पार्टी भएका कारण नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोग जानू नपर्ने बताए ।

    हामीसँग पार्टी भएका कारण अर्को पार्टी दर्ता गर्न जाँदैनौँ’, उनले भने । प्रधानमनत्री ओलीले प्रचण्ड-नेपाल समूहका गतिविधिले आम कार्यकर्ताको मन दुखेको समेत बताए । उनले भने, ‘उहाँहरु निर्वाचन आयोग, अदालत, सडक, मिडियामा गएर तमासा देखाउनु भएको छ । उहाँहरुका गतिविधिले दुःख गरेर गरेर पार्टी निर्माण गरेका कार्यकर्ताको मन दुखेको छ ।’

    प्रतिकृया दिनुहोस