• समाचार

    जिल्लाकै उत्कृष्ट विद्यालय बन्दै राष्ट्रिय मावि

      ओमकार टाईम्स


    इटहरी : इटहरी उपमहानगरपालिका–१ आँपगाछीस्थित राष्ट्रिय माध्यमिक विद्यालय विद्यार्थी र अभिभावकको रोजाइमा परेको छ । नियमित र गुणस्तरका आधारमा तथा विद्यार्थी कस्तो छ ? उसको रुची केमा बढी छ ? भन्ने विषयमा छलफल गरेर कक्षामा विद्यार्थीले बुझ्ने गरी पढाइने भएकाले यो विद्यालय सबैको रोजाइमा परेको हो । संस्थागत विद्यालय (बोर्डिङ)मा मात्र राम्रो पढाइ हुन्छ भन्ने बुझाइका कारण अधिकांश अभिभावक आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्दैनन् । तर राष्ट्रिय मावि भने विद्यार्थी र अभिभावकको रोजाइमा परेको छ । जिल्लाकै उत्कृष्ट विद्यालयको रूपमा स्थापित उक्त सामुदायिक विद्यालयमा बोर्डिङ छाडेर भर्ना हुनेहरूको सङ्खया बढ्दै गएको छ ।

    विद्यालयका प्रधानाध्यापक शरण बस्नेतले भने, ‘विद्यार्थी र अभिभावकको रोजाइमा विद्यालय पर्न सफल हुनुमा शिक्षकको मिहिनेत नै मुख्य हो ।’ उनका अनुसार विद्यालयको राम्रो पक्ष विद्यार्थीको स्वास्थ्य जाँच पनि हो । विद्यालयमै नर्स राखेर स्वास्थ्य क्षेत्र हेर्ने जिम्मा दिइएको छ । विद्यार्थीको स्वास्थ्य अवस्था केही भइहाले तुरुन्त उपचार गर्ने गरिएको छ ।’ विद्यालयमा बोर्डिङमा जस्तै नर्सरी, केजी कक्षाको व्यवस्था गरिएको छ । कक्षा ५ सम्म अङग्रेजी माध्यममा पढाइ हुने गरेको छ । त्यस्तै कक्षा ११ र १२ मा पनि अङग्रेजी माध्यममा पढाइ हुने गरेको छ । शिक्षा कार्यालयको मूल्याङ्कनमा यो विद्यालय हरेक वर्ष जिल्लाको उत्कृष्ट भित्र पर्दै आएको छ । विद्यालयको शैक्षिक अवस्था मजबुत बनाउन परीक्षा, अनुशासन, शैक्षिक गतिविधि, अतिरिक्त क्रियाकलाप, छात्रवृत्ति विभाग बनाइएका छन् । विद्यालयमा अहिले एक हजार ४८६ विद्यार्थी छन् । त्यसमध्ये १८२ जना प्राविधिक शिक्षातर्फका रहेका छन् ।

    प्रतिकृया दिनुहोस