• समाचार

    मन्त्री तुम्बाहाङ्फे भन्छिन् : प्रदेशसभा पनि विघटन हुनसक्छ

      ओमकार टाईम्स

    काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फेले प्रदेशसभा पनि विघटन हुनसक्ने बताएकी छन् । मन्त्री तुम्बाहाङ्फेले सोमबार विराटनगरमा सो कुरा बताएकी हुन् ।

    ‘केन्द्रमा देखिएको राजनीतिको प्रभाव प्रदेश सभामा पनि देखिएकाले नेपालको संविधान र प्रदेशको कानुनअनुसार प्रदेशसभा विघटन हुन सक्ने सम्भावना छ,’ उनले भनिन्,‘प्रदेशसभा सञ्चालन र विघटनको अधिकार प्रदेशमा छ ।’ प्रतिनिधिसभा विघटन भएपछि वर्तमान सरकार कामचलाउ बनेको बताउँदै उनले कामचलाउ बनेको सरकारको काम कारवाही सहज रुपमा अघि बढाउन प्रधानमन्त्रीले मन्त्रीमण्डल विस्तार गरेको बताइन् ।

    संसद् विघटन संविधानमा स्पष्ट रुपमा उल्लेख नभए पनि ताजा जनादेशमा जानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको निर्णय गरेको उनको भनाइ छ ।साथै,उनले सो कुरा विधिसम्मत रहेको बताइन् ।  त्यसैगरी उनले तोकिएको मितिमा चुनाव गराउन सरकार लागि परेको बताइन् । ‘तोकिएको मितिमा चुनाव गराउन सरकार लागिपरेको छ,’ मन्त्रीले भनिन्, ‘तोकिएको मितिमा चुनाव हुन्छ, त्यसका लागि आवश्यक सबै तयारी हुदैछ . ’चुनाव हुने विषयमा शंका नगर्दा हुन्छ ।’

    प्रतिकृया दिनुहोस