काठमाडौं । बङ्गलादेशबाट खरीद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मल ल्याउन ढिलाइ भएको छ । यही पुस २ गते सरकार–सरकारबीच (जिटुजी) मार्फत रासायनिक मल खरीदको सम्झौता भएको १८ दिन बितिसक्दा समेत प्रक्रिया शुरु हुन सकेको छैन । सम्झौता गरेर फर्किएको नेपाली टोलीले मल ल्याउने तयारीस्वरुप एलसी (प्ततिपत्र) खोलेर बङ्गलादेश पठाइसकेको जनाइएको छ । नेपालका तर्फबाट गर्नुपर्ने सबै प्रक्रिया सकिए पनि बङ्गलादेशबाट ढिलाइ भएको कृषि सामग्री कम्पनीले जनाएको छ ।
उनका अनुसार सरकारी प्रक्रिया सकिएको दश दिनमा रेल र सडकमार्ग हुँदै मल खरीद शुरु गरिनेछ । बङ्गलादेशसँग प्रतिमेट्रिक टन २५९.१९५ अमेरिकी डलरमा मल खरीदको सम्झौता भएको भण्डारीले जानकारी दिए । उनका अनुसार कम्पनीबाट रासायनिक मल खरीदको अन्तिम सम्झौतानसार बङ्गलादेशसँग प्रतिमेट्रिक टन १८ डलर कममा सम्झौता भएको छ ।
जिटुजीमार्फत मल ल्याउन गत कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई स्वीकृति दिएको थियो । मन्त्रालयको निर्देशनअनुसार कम्पनीले मल खरीदको तयारी गरेको थियो । तयारीस्वरुप पुस २ गते जिटुजी प्रक्रियामार्फत मल खरीदका लागि कम्पनीका प्रबन्ध सञ्चालक भण्डारी र बङ्गलादेश केमिकल इन्ड्रष्ट्रिज कर्पोरेशनका अध्यक्ष महम्मद एमिन उल अहसनबीच सम्झौता भएको थियो ।
पर्याप्त मौज्दात
धान रोप्ने याममा रासायनिक मल अभाव भए पनि हाल पर्याप्त मात्रामा मलको मौज्दात छ । कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनसँग पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको भण्डारीले जानकारी दिए ।
उनका अनुसार कम्पनीसँग हाल नौनौ हजार मेट्रिक टन डिएपी र पोटास तथा आठ हजार मेट्रिक टन युरिया मल मौज्दात छ । चालू आवको बोलपत्रमार्फत कर्पोरेशनले खरीद गरेको मलसमेत पर्याप्त मात्रामा छ । शुरुआती चरणमा कम्पनीको मल बिक्री वितरण हुने तथा मौज्दात सकिँदै गएपछि कर्पोरेशनले खरीद गरेको मलको बिक्री वितरण शुरु हुने उनले जानकारी दिए ।
प्रतिकृया दिनुहोस