• समाचार

    काठमाडौंमा कैँची प्रहार गरी युवकको हत्या, भारतीय नागरिक पक्राउ

      ओमकार टाईम्स


    काठमाडौं । कैँची प्रहार गरी युवकको हत्या गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१६ बाइपास बस्ने २५ वर्षीय सुवोध मियाँ रहेका छन् । उनको स्थायी घर भारतको मोतिहारी हाे ।

    सुवोधले मंगलबार राति भारत मोतिहारी घर भएका २५ वर्षीय कलाम मियाँलाई धारिलो हतियार (कैँची) प्रहार गरेका थिए ।  कैँची प्रहारबाट गम्भीर घाइते भएका कलामको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मंगलबार राति नै मृत्यु भएको थियो । आपसी विवादको क्रममा सुवोधले कलामलाई हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।

    घटनापश्चात टाटा सुमो रिजर्भ गरेर भाग्दै गरेको अवस्थामा सुवोधलाई इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरी टोलीको सहयोगमा आज (बुधबार) बिहान पक्राउ गरिएको हो । प्रहरीका अनुसार दुवै जनाले सिलाइ कटाइको काम गर्दै आइरहेका थिए । उनीहरु बीच पहिलादेखि नै सम्बन्ध राम्रो थिएन ।  घटनबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस