• फिचर समाचार

    बारामा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान , १०२ किलो गाँजा सहित एकजना पक्राउ

      ओमकार टाईम्स

    बारा । बारामा प्रहरी र गाँजा ओसारपसारमा संलग्नहरूबीच गएराति गोली हानाहान भएको छ। त्यहाँबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

    जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता तथा डीएसपी गौतम मिश्रले ४७ वर्षीय इमानसिंह तामाङलाई पक्राउ गरिएको बताए।प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानको क्रममा उनी मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ को रहेको खुलेको छ।

    डीएसपी गौतमका अनुसार गएराति अन्दाजी ९:४५ बजे इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरीक्षक विकास थपलियाको कमाण्डमा अस्थायी प्रहरी पोस्ट रतनपुर समेतबाट खटिएको संयुक्त प्रहरी टोली गस्तीमा निस्केको थियो।

    गस्ती गर्दै जाने क्रममा निजगढ नगरपालिका वडा नम्बर १३ मा रहेको भक्त खोलाको बगरमा पुग्दा गाँजा ओसारपसारमा संलग्न तामाङसहितले देखेर प्रहरीलाई लक्षित गरी फायर खोलेको डीएसपी गौतमले बताए।उनीहरूको फायरपछि प्रहरीले प्रतिकारस्वरूप ठूलो चाइनिज पेस्तोलबाट पाँच राउण्ड फायर गरेको बताए।

    घटनास्थलबाट प्रहरीले पाँचवटा सेतो बोराभित्र लुकाएर राखेको अवस्थामा १०२ किलो गाँजा र एक थान भरूवा बन्दुक बरामद गरेको छ।

     

    प्रतिकृया दिनुहोस