• सम–सामयिक

    सम्झौता अवधि सकियो, उखु किसानले पाएनन् भुक्तानी

      ओमकार टाईम्स


    काठमाडौं : उखु किसानलाई तिर्न बाँकी बक्यौता दिने समय चिनी उद्योगीहरुको सकिएको छ ।

    सरकारले किसानसँग गरेको सम्झौताको समयसीमा २१ दिन सकिएको हो । तर किसानले भने अझै भुक्तानी पाएका छैनन् । यो अवधिमा पनि उद्योगीले किसानको सबै रकम तिरेका छैनन् ।

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार चिनी मिलबाट पाउनुपर्ने रकम भुक्तानीको माग राख्दै गत मंसिर २८ गतेबाट आन्दोलन सुरु गरेका उखु किसानले पुस १३ गते सरकारसँग ४ बुँदे सम्झौता गरेका थिए तर रकम पाएका छैनन् ।

    उद्योग मन्त्रालयका प्रतिनिधि र किसानबीच भएको उक्त सम्झौतामा चिनी उद्योगीले किसानलाई तीन हप्ता अर्थात् २१ दिनभित्र सबै रकम तिरिसक्नुपर्ने उल्लेख थियो । तर मन्त्रालयले उपलब्ध गराएको आइतबारसम्मको बक्यौता भुक्तानी विवरणअनुसार चिनी उद्योगले सबै रकम नतिरेको देखिएको छ ।

    पछिल्लो पटक चिनी उद्योगीहरुले अधिकांश किसानको रकम चुक्ता गरे पनि अझै केही किसानले नपाएको बताएका छन् ।

    ‘४ वटा उद्योगबाट करिब ५४ करोड रुपैयाँ बराबर उखु किसानको खातामा गईसकेको छ । अझै केही रकम बाँकी छ,’ मन्त्रालयका प्रवक्ता डा।नारायण रेग्मीले भने । मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार उखु किसानलाई ३५ करोडभन्दा बढी तिर्न बाँकी रहेको श्रीराम सुगर मिलले आइतबारसम्ममा ३१ करोड रुपैयाँ तिरेको देखिएको छ ।

    अझै ४ करोड बढी तिर्न बाँकी छ । त्यस्तै, ३० करोड तिर्न बाँकी रहेको अन्नपूर्ण सुगर मिलले १३ करोड, १० करोड ७४ लाख रुपैयाँ बराबर तिर्न बाँकी रहेको लुम्बिनी सुगर मिलले ८ करोड रुपैयाँ र ४ करोड ७० लाख रुपैयाँ बराबर बक्यौता रहेको इन्दिरा सुगर मिलले २ करोड रुपैयाँ बराबर भुक्तानी दिएको देखिएको छ ।

    प्रतिकृया दिनुहोस