• अर्थ

    कोरोनाबाट प्रभावित भएको उद्योग,व्यापार क्षेत्र पुरानै लयमा फर्कदै, राजश्व संकलनमा वृद्धि

      ओमकार संवाददाता


    विराटनगर/ कोरोना महामारीबाट प्रभावित भएको उद्योग, व्यापार क्षेत्र पुरानै लयमा फर्किन थालेसँगै राजश्व संकलन पनि उत्साह जनक बन्दै गएको छ । झण्डै ६ महिनासम्म संकटग्रस्त अवस्थाबाट गुज्रिएको उद्योग र व्यापार क्षेत्र कात्र्तिकयता सुधारोन्मुख हुँदै पुरानो लयमा आईपुग्दा राजश्व संकलन पनि उत्साहजनक बन्दै गएको हो । आन्तरिक राजश्वकार्यालय विराटनगरले चालु आर्थिक वर्ष २०७७/ ७८ को मद्यावधि सम्म कर संकलनको ९९.८७ प्रतिशत लक्ष्यप्राप्ति गरेको छ ।

    आर्थिक वर्षको पहिलो तीन महिनामा कोरोना महामारी र क्षेत्रगत लकडाउनका कारण व्यापार व्यवसाय तथा उद्योग क्षेत्र प्रभावित बनेको थियो । उक्त अवधिमा मूल्य अभिवृद्धि कर, आयकर र अन्तःशुल्क लगायतका सबै राजश्व आम्दानीका श्रोतहरुबाट न्यून संकलन भएको थियो । तर कार्तिक महिनापछि भने राजश्व आम्दानीमा सुधार आएको आन्तरिक राजश्वकार्यालय विराटनगरले जनाएको छ ।

    कार्यालयका अनुसार गतबर्षको तुलनामा चालु आ.ब.को पछिल्लो ६ महिनाको अवद्यिमा राजश्व संकलन ११ प्रतिशतले बढी भएको छ । चालु आ.ब.को पुस मसान्तसम्म आयकरमा ३, मुल्य अभिवृद्धि करमा २७ र अन्तः शुल्कमा ८ प्रतिशतले वृद्धि भएको आन्तरिक राजश्वकार्यालय विराटनगरका प्रमुख बिमल सापकोटाले बताउनुभयो । गतबर्षको पुस महिनाकै तुलनामा पनि यसबर्ष १ सय १८ प्रतिशत बढी राजश्व संकलन भएको उहाँले जानकारी दिनुभयो

    चालु आर्थिक बर्षको पुस मसान्त सम्म आयकर तर्फ १ अर्ब १६ करोड ४१ लाख राजश्व संकलन गर्ने लक्ष्यलिएको कार्यालयले १ अर्ब ५४ करोड ८४ लाख रुँपैया संकलन गरि १ सय ३३ प्रतिशत प्रगति हाँसिल गरेको छ । यस्तैै सोहि अवधिमा मुल्य अभिवृद्धि कर तर्फ ७१ करोड ६६ लाख ९७ हजार राजश्व संकलनको लक्ष्य निर्धारण गरेको कार्यालयले १ अर्ब १४ करोड २३ लाख संकलन गरि १ सय ५९ प्रतिशत अर्धवार्षिक प्रगति हाँसिल गरेको छ । यस्तै पुस मसान्त सम्म अन्तःशुल्क तर्फ पनि २ अर्ब ३ करोड ४४ लाख राजश्व संकलनको लक्ष्य लिएको कार्यालयले १ अर्ब २० करोड ८९ लाख संकलन गरि लक्ष्यको तुलनामा मात्र ५९ प्रतिशत प्रगति हाँसिल गर्न सकेको आन्तरिक राजश्वकार्यालय विराटनगरका प्रमुख बिमल सापकोटाको भनाई छ ।

    उद्योग र व्यापार क्षेत्रको अवस्था सुधार भएपनि अस्पताल र पर्यटन क्षेत्रबाट हुने आम्दानीमा भने गिरावट आएको कार्यालयले जनाएको छ । कोरोना महामारीका कारण होटल व्यवसाय सबैभन्दा बढी प्रभावित भएका छन् भने अस्पतालको अवस्था पनि अझै सुधार भईसकेको छैन । जसले गर्दा चालु वर्षको पहिलो ६ महिनामा त्यस क्षेत्रबाट अपेक्षित राजश्व संकलननभएको कार्यालयको अध्ययनले देखाएको छ ।

     

    प्रतिकृया दिनुहोस