• फिचर समाचार

    नेपाल शिक्षक महासंघ नगर समिति गौरादहले दियो आन्दोलन गर्ने चेतावनी

      ओमकार टाईम्स

    झगेन्द्र खड्का
    गौरादह/ स्थानीय सरकारले शिक्षा क्षेत्रको बजेट कटौती गरेकोमा नेपाल शिक्षक महासंघ नगर समिति गौरादहले १२ बुँदे माग माग राख्दै आपत्ति जनाएको छ ।

    गौरादह नगरपालिकाले चालु आर्थिक बर्षको सुरुको नगर सभाबाट शिक्षा क्षेत्रमा बिनियोजित बजेट गत पुषमा सम्पन्न नगर परिषदबाट संसोधन गरी कटौती गरिएकोमा आपत्ति प्रकट गरेको हो।नेपाल शिक्षक महासंघ नगर समिति गौरादहका अध्यक्ष बाबुराम भण्डारीले बुधबार श्रोत केन्द्र भवन गौरादहमा पत्रकार सम्मेलन गरि सामाजिक विकास समिति अन्तर्गत शिक्षा शाखाको बजेट कटौती र त्यसबाट शिक्षा क्षेत्रमा परेको असरका बारेमा जानकारी गराए।पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष भण्डारीले शिक्षा क्षेत्रमा परेको असरका बारेमा नगरपालिकाको ध्यानाकर्षण गराउन र शिक्षकका मागहरु सार्वजनिक गर्दै स्थानीय सरकारले यथासिघ्र सम्बोधन नगरे शिक्षकहरु चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।

    नगरपरिषदले बजेट बटौति गर्दा न्युन पारिश्रमिकमा कामगर्ने विद्यालयका बाल शिक्षक र विद्यालय कर्मचारीहरु प्रत्यक्ष मारमा परेका छन् । स्थानीय सरकारले विगत बर्षदेखि उनीहरुलाई नगर प्रोत्साहन भत्ता स्वरुप एक हजार दिदै आएको थियो । यस आर्थिक बर्षमा सो रकमलाई थप गरी २५ सय पुर्याइएको थियो । विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण विद्यालय बन्द भएको बाहाना बनाउदै रकम कटौति गरेपछि महासंघले आपत्ति प्रकट गर्दै आन्दोलनमा उत्रने घोषण गरेको हो ।

    शिक्षक महासंघले सहयोगी कर्मचारी र बाल शिक्षकहरुलाई श्रम ऐनले तोको बमोजिम न्युनतम पारिश्रमिक १३ हजार ४५० उपलब्ध गराइनु पर्ने, शिक्षामा आन्तरिक श्रोतबाट कम्तिमा १० प्रतिशत बजेट बिनियोजन, कक्षगत दरबन्दीको ब्यवस्था, कक्षा ११ र १२ मा सामाजिक शिक्षकको दरबन्दिको ब्यवस्था, उमेर हदका कारण अवकासहुने कर्मचारी र बाल शिक्षकलाई एकमुस्ट ५ लाख अनुदान उपलबध गराइनुपर्ने, विद्यालयमा रहेका बाल क्लव, जुरेस, स्काउटलाई बजेटको ब्यवस्था, अंग्रेजी माध्यम संचालन भएका विद्यालयहरुलाई पाठ्यपुस्तक खरिदमा बजेटको ब्यवस्था लगाएतका मागहरु रहेका छन्।

    गौरादह नगरपालिकाको कुल ७३ करोड २३ लाख बजेटमा असारको नगरसभाबाट १ करोड ८ लाख ६० हजार शिक्षा शाखालाई बजेट बिनियोजन गरेको थियो । गत पुष महिनाको नगरसभा बाट बजेट कटौति गरी ७६ लाख ६० हजार मात्र शिक्षा शाखामा बिनियोजन गरिएको छ। नगर परिषदले बाल शिक्षक र कर्मचारी प्रोत्साहान भत्ता १४ लाख ४० हजार, विद्यालय कर्मचारी निबृत्ति प्रोत्साहन शीर्षकमा ४ लाख, २० जना अंग्रेजी शिक्षक थप शीर्षकमा ३९ लाख, प्ले ग्रुप कक्षा ब्यवस्थापनमा ८ लाख बजेट कटौति भएको महासंघले बताएको छ ।

    त्यसैगरी नगरसभाले भवन मर्मत सुधार, माक्स खरिद र भर्ना अभियान शीर्षकमा २५ लाख ४० हजार बजेट संसोधन समेत गरेको छ । पत्रकार सम्मेलनमा पत्रकारहरुले राखेका जिज्ञासाहरुको सहजिकरण शिक्षक माहासंघ झापाका अध्यक्ष बुद्धिमान कार्की र नगर महासंघका अध्यक्ष बाबुराम भण्डारले गरेका थिए । त्यस अवसरमा फागुन २१ सम्मका लागि पहिलो चरण र दोस्रो चरणका चरणबद्ध आन्दोलनका कार्यक्रमहरु समेत सार्बजनिक गरिएको थियो।

    प्रतिकृया दिनुहोस