• समाचार

    लमजुङमा जीप दुर्घटना, तीनको मृत्यु, तीन जना घाइते

      ओमकार टाइम्स

    लमजुङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार दोर्दी गाउँपालिका– ६ सिमीगाउँ नजिकै जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको र अन्य तीन जना गम्भीर घाइते भएका हुन् ।  दोर्दीखोलामा निर्माणाधीन सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’ को कर्मचारी लिएर फर्किंदै गरेको प्रदेश ३–०१–०२२च १३८३ नं को जिप बिहीबार साँझ भीरबाट खसेको प्रहरीको भनाइ छ ।

    दुर्घटनामा जलविद्युत् आयोजनामा कार्यरत दुई जना इन्जिनियर र जिप चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेमा सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’ मा कार्यरत स्याङ्जा घर भएका ३४ वर्षीय इन्जिनियर यदुनाथ भट्टराई, भानु नगरपालिका १०, तनहुँ घर भएका ४५ वर्षीय इन्जिनियर जयप्रकाश लौडारी र जिप चालक खोटाङ घर भएका २६ वर्षीय किशोर राई रहेका छन् ।

    साथै, धरान सुनसरी घर भई सुपरदोर्दी ‘ख’ मा कार्यरत इन्जिनियर सुनिलकुमार साह, दोर्दी गाउँपालिका ६, ताँजे घर भई सिमी गाउँस्थित अमरज्योति आधारभूत विद्यालय कक्षा ७ मा अध्ययनरत १५ वर्षीया अनु घले र कक्षा ६ मा अध्ययनरत १५ वर्षीया सुसना विक घाइते भएका छन् । प्रहरीका अनुसार ती विद्यार्थीहरु स्कुल बिदा भएपछि गाउँ जान जिप चढेका थिए । उनीहरुको जिल्ला अस्पताल बेसीसहरमा उपचार भईरहेको छ ।

    प्रतिकृया दिनुहोस