• समाचार

    वर्षौंदेखि अलपत्र विराटनगरको पशु बधशाला, निमार्ण कार्यले अझै पुर्णता पाउन सकेन

      ओमकार संवाददाता

    विराटनगर/ विराटनगरको निति तथा कार्यक्रममा ५ पटकसम्म समेटिएको पशु बधशालाको निमार्ण कार्यले अझै पुर्णता पाउन सकेको छैन् । वि.सं. २०६६ सालबाट विराटनगर–८ स्थित मधुमारामा सुरु भएको बधशालाको निमार्ण कार्य पर्याप्त बजेटको अभावमा अलपत्र परेको हो । खसी तथा बोकाको मासु प्रशोधन गरि उपभोक्तालाई स्वस्थकर र प्रमाणिक मासु आपुर्ति गर्ने लक्ष्यका साथ एक दशकअघि बधशाला निमार्णको कार्य थालिएको थियो । तर एकमुष्ठ बजेटको अभावमा विराटनगर महानगरपालिकाको आधुनिक र व्यवस्थित पशु बधशाला निमार्ण गर्ने योजना अलपत्र परेको हो ।

    पटकपटक खुद्रा बजेटको मारमा परेको सो परियोजनालाई प्रदेश सरकार र विराटनगर महानगरपालिकाले आवश्यक बजेट विनियोजन गरि आर्थिक बर्ष २०७६÷०७७ बाटै अघि बढाउने तयारी गरेको थियो । सो कार्यका लागी महानगरले २०७६ मंसिर २४ मै प्रथमपटक लागी बोलपत्र आव्हानको सूचना समेत प्रकाशन गरेको थियो । तर त्यतिखेर पनि सो परियोजनाले गति लिन सकेन् । डिपिआर डिजाईनमा देखिएको प्राविधिक त्रुटिका कारण निमार्ण कार्यमा ढिलाई भएको महानगरको भेटेरिनरी शाखा प्रमुख हिरालाल यादवले बताउनुभयो ।

    ‘प्राविधिक त्रुटिका कारण ढिलाई भएको थियो’, यादवले भन्नुभयो, ‘हेफर ईन्टरनेशनलको प्राविधिक सहयोगमा तयार पारिएको डिपिआर पशु सेवा विभागबाट स्वीकृत भईसकेको छ । अब महानगरको निर्णय बमोजिम चाँडै नै बधशाला निमार्णको कार्यलाई तीव्रता प्रदान गरिनेछ ।’

    खुद्रा बजेट मुख्य समस्या

    पशुपंक्षी बजार प्रवद्र्धन निर्देशनालयको ६० लाख र तत्कालीन विराटनगर उप–महानगरपालिकाको ३८ लाख बजेटमा ०६६ बाट बधशाला निर्माणको कार्य सुरु भएको थियो । त्यसयता पछिल्लो १ दशकमा बधशाला निर्माणका लागि १ करोड १९ लाख बजेट खर्च भईसकेको छ भने १३ करोड २० लाख रुँपैया खर्च हुन नसकेर फ्रिज भएको छ । हाल निर्मित संरचना बधशालाका लागि उपयुक्त नभएका कारण त्यसलाई पुर्ननिर्माण गर्ने वा केही परिमार्जन गर्ने भन्ने विषयमा महानगरपालिकाले गत वर्ष नै गैह्रसरकारी संस्था हेफर इन्टरनेशनल नेपाललाई डिपिआर तयार गर्ने जिम्मेवारी दिएको थियो ।

    तर, उक्त संस्थाले समयमै डिपिआर तयार नगर्दा २०७४÷०७५ मा संघीय सरकारले दिएको १ करोड २० लाख र प्रदेश सरकारले दिएको ३ करोड रुँपैया फ्रिज भएको थियो । आर्थिक बर्ष २०७५÷०७६ मा पनि बधशाला निमार्णका लागी प्रदेश सरकारले ३ करोड र महानगरपालिकाले ५ करोड बजेट छुट्याएको थियो । तर डिपिआर निर्माणको कार्य अन्तिम चरणमा रहेकाले काम सुरु हुन सकेको थिएन् । महानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएपश्चात हरेक वर्ष बधशाला निर्माणका लागि बजेट विनियोजन हुँदै आएको छ । तर, रहेक वर्ष विनियोजित बजेट पर्याप्त नहुँदा खर्च हुन नसकेर फ्रिज हुँदै आएको छ ।

    अस्वस्थकर मासु खाँदै उपभोक्ता

    महानगरको निति तथा कार्यक्रमले छोएको तर पनि ओझेलमा परेको बधशाला निमार्णको कार्यले पुर्णता नपाउँदा आम उपभोक्ता अस्वस्थकर मासु खान बाध्य छन् । न्यूनतम मापदण्डसमेत पूरा नगरी सञ्चालन गरिएका फ्रेश हाउसबाट अस्वस्थकर मासु खान बाध्य उपभोक्ताहरुले अब बधशाला को निमार्ण कार्यले पूर्णता पाउँछ भन्ने कुरामा विश्वास गर्नै छाडेका छन् । व्यवस्थित बधशालाको अभावमा उपभोक्ताहरु झिगाँ भन्केको घिनलाग्दो र स्वास्थ्यका लागी हानिकारक मासु खान बाध्य रहेको विराटनगर–५ का स्थानीय सुवास काफ्लेले बताउनुभयो ।

    व्यवस्थित ढंगले मासुको उपयोग र बिक्री वितरण नहुँदा सर्वसाधारणमा अनेक किसिमका संक्रमणको जोखिम बढ्दै गएको कोशी अस्पतालका फिजिसियन डा. रोशन खड्काले बताउनुभयो । उहाँले अस्वस्थकर मासुको सेवनले पेट तथा कलेजोको ईन्फेक्सन, मिर्गौला सम्बन्धी समस्या, हैजा, डायरिया र टाईफाईड लगायतका संक्रामक रोगहरु लाग्नसक्ने जानकारी दिनुभयो ।

    जीर्ण संरचना

    विगत १ दशकदेखि अलपत्र परेको पशु बधशालाको निमार्ण कार्य अधुरै छोडिदा निर्मित संरचना समेत भत्किन थालेको छ । जस्ताले छाएको दुईत्तले संरचनामा पनि वरिपरि लगाईएका पर्खाल भत्किन थालेका छन् । भत्किएका पर्खालहरुको ईट्टा पनि हराईसकेका छन् । संरचनाको चारैतिर प्वाल परेको छ । डिजाईनमा त्रुटि देखिएकाले करिब १० बर्षअघि नै तत्कालिन पशुसेवा निर्देशानालयले बधशालाको निमार्ण कार्यमा रोक लगाएको थियो । त्यसयता सो योजनाले गति पाउन सकेको छैन् ।

    लागूऔषध प्रयोगकर्ताको अखडा, प्रेमिल जोडीको डेटिङ स्थल, स्थानीयको गोठ

    विराटनगरको जनआन्दोलन चौकबाट झण्डै ३ किलोमिटरको दुरीमा वडा नं. ८ मा अवस्थित रहेको पशु बधशालाले हाल नयाँ परिचय पाएको छ । अलपत्र अवस्थामा रहेको सो बधशाला हाल लागूऔषध प्रयोगकर्ताका लागी मुख्य अखडा, पे्रमिल जोडीका लागी डेटिङ स्थल तथा स्थानीयका लागी सार्वजनिक गोठ र डम्पिङ साईटको रुपमा परिणत भएको छ । निमार्णप्रति कसैको ध्यानाकर्षण नहुँदा स्थानीयले आफुखुशी सो संरचनाको उपयोग गर्न थालेका छन् ।

    मुख्यतः सो संरचना हाल लागूऔषध प्रयोगकर्ताहरुका लागी प्रमुख गन्तव्य बनेको छ । युवा देखि बालबालिकासम्मले सो संरचनालाई जाँड, रक्सी, चुरोट र गाँजा खाने स्थलको रुपमा प्रयोग गर्न थालेका छन् । जसकारण आसपासका घरहरुमा पछिल्लो समय चोरीनिकासी समेत मौलाएको स्थानीय सकीला खातुनले बताउनुभयो ।

    विराटनगर महानगरपालिकाले भने चालु आ.ब. २०७७÷०७८ को निति तथा कार्यक्रममा भने खुल्ला रुपमा पशुहरुको बध गर्ने कार्यलाई नियन्त्रण गरि प्रदेश सरकारसँगको साझेदारी अत्याधुनिक र व्यवस्थित बधशाला निमार्ण गर्ने उल्लेख गरेको छ । तर विगत १ दशकयताको अवस्था बिश्लेषण गर्दा यसबर्ष पनि सो योजनाले पुर्णता पाउने वा नपाउने बिषयमा आम उपभोक्ता चिन्तित छन् ।

    प्रतिकृया दिनुहोस