धनगढी /बैतडी : बलात्कारपछि हत्या गरिएकी बैतडी दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यारा अझै पत्ता लागेको छैन । यही माघ २१ गते विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता भएकी भागरथीको शव २२ गते लवलेक सामुदायिक वनमा फेलापरेको थियो । भागरथीको शवको पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको उल्लेख छ ।
भागरथीको हत्या भएलगत्तै घटनाको अनुसन्धानमा जुटेको प्रहरीलाई हत्यारा पत्ता लगाउन सकस भएको छ । नेपाल प्रहरीका एसएसपी जनकराज पाण्डे नेतृत्वको टोली सुरुदेखि घटनाको अनुसन्धानमा छ भने माघ २५ गतेपछि डिआइजी उत्तमराज सुवेदी नेतृत्वको टोलीले पनि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले बताए ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका डिएसपीको नेतृत्वमा पनि अनुसन्धान टोली खटिएको छ । डिआइजी सुवेदीले अनुसन्धान टोलीलाई आवश्यक निर्देशन दिने, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणसँग बेलाबेलामा भेटेर घटनाका बारेमा जानकारी लिने गरेका छन् ।
उनी अहिले बैतडीमै छन् । खोचलेक प्रहरीचौकीमा बसेर उनले घटनाको अनुसन्धान गर्दै आएका छन् । शव फेलापरेको नौ दिनसम्म पनि दोषी पहिचान नहुँदा पीडित पक्षले न्याय नपाउने हो कि भन्ने चिन्ता बढ्न थालेको छ ।
भागरथीको बलात्कार र हत्यापछि उनले पढ्ने गरेको सनातन धर्म माविका विद्यार्थी त्रसित भएका छन् । आफ्नै सहपाठीको विद्यालयबाट घर फर्कर्ने क्रममा बलात्कार र हत्या भएपछि उनीहरू त्रसित भएका हुन् ।
कक्षा १२ मा पढिरहेकी भागरथी विद्यालयमा असल छात्राका रुपमा चिनिन्थिन् । घटनाको एक सातापछि विद्यालय खुले पनि विद्यार्थी त्रसित भएको प्रधानाध्यापक बलदेव नाथले बताए ।
आजको नागरिक दैनिकमा समाचार छ ।
प्रतिकृया दिनुहोस