• फिचर

    वेद वाचनमा पोख्त सुन्दास दिदीबहिनी !

      ओमकार

     

    मनिता सुन्दासका पूर्खालाई त अझै पनि धेरै मानिसहरुले अछुत नै ठान्छन् । जातिका आधारमा विभाजित समाजले उनीहरुका पूर्खालाई अछुत भनेर मंगल कार्यबाट टाढै राखे । तर, मनिता सुन्दासलाई अचेल हरेकका घरमा मंगल कार्य हुँदा वेदका ऋचा वाचन गरेर पवित्र बनाउन भ्याई–नभ्याई छ ।

    मनिताको वेद वाचनबारे बुझ्न जाँदा कुराको प्रसंग सुरु हुनासाथ उनले एउटा श्लोक हालिन्–
    ‘चतुर्वण्र्य मयातुष्टं गुणकर्म विभागसः’
    र उत्सुक हुँदै अर्थ पनि लगाइन्–
    ‘गुण र कर्मका आधारमा मैले चारवर्णको सृष्टि गरेको हुँ, न कि जन्मका आधारमा ।’
    वेदको एउटा ऋचाको वाचन र अर्थ लगाएपछि मनिता त्यसको व्याख्या दिन थालिन्– ‘वेदमा विभेद छ, यस्तो उस्तो छ भन्छन् । तर मैले मात्र हैन, संसारले बुझ्दैछ, वेदले जति प्रकृतिको सम्मान कसैले गर्दैन ।’

    डिप्लोमा पढ्दै गरेकी मनिता सुन्दास अहिले कि निक्कै चर्चित वेद वाचक हुन् । समाजले जन्मका आधारमा दलित बनाइदिएको परिवारमा जन्मिएकी उनलाई वेदको अध्ययन पछि अहिले त्यही समाजले ब्राह्मणका रुपमा पुज्छ । उनी पनि वेद अध्ययनबाट सृष्टिको सहज ब्याख्या गर्न सक्ने भइसकेकी छिन्।
    सातै वर्षको उमेर देखि वेद अध्ययनको यो बाटोमा उनी यसरी लागिन्–

    पाटनढोका स्कुलबाट घर फर्कंदै गर्दा उनलाई सँगै पढ्दै गरेकी साथीले नजिकै साई केन्द्रले सञ्चालन गरेको बाल विकास स्कुलमा पुर्याइन् । त्यहाँ सेतो कपडा लगाएर बसेका धेरै दाइ दिदीहरु भजन र वेदवाचन गरिरहेका थिए । भजन र वेद वाचन गर्नेलाई सबैभन्दा अगाडि राख्ने, पूजाको प्रसाद पनि पहिला खान दिने गरेको देख्दा उनको मनमा आफू पनि अगाडि बसेर प्रसाद खाने भाव आयो ।
    वेद पढ्न सके, भजन गाउन सके अगाडि बसेर प्रसाद खान पाइन्छ भन्ने लोभले मनितालाई पक्रियो । अनि मनमनै मलाई पनि यसैगरी संस्कृतका श्लोक भन्न आओस् भनेर भाकल गरिन् ।

    संस्कृतका लामालामा वाक्य अरुले वाचन गरेको सुन्दा निकै आनन्द आउँथ्यो मनितालाई । तर, आफूलाई आउँदैन, उच्चारण गर्न निकै कठिन हुँदाहुँदै पनि उनी सगँसँगै बसेर गाउन थालिन् । विद्यालयमा उनी कक्षा दुईमा पढ्थिन् र साइ केन्द्रमा संस्कृतका श्लोकहरु कण्ठ गर्थिन् ।

    वेद के हो थाहा नपाई बेदका ऋचा उनलाई कण्ठ हुन थाल्यो र त्यसको अर्थ बुझ्न थालिन् । ध्यानस्थ भएर लयमा वाचन गर्ने आदत बसिसकेपछि बल्ल उनले थाहा पाइन्, उनले बेद पढेकी रहिछन् । ‘मैले पढ्दा त्यो वेद हो भन्नेनै थाहा थिएन । बरु अहिले आएर समाजमा महिला र अझ दलितले बेद पढ्दैनथे भन्ने सुन्दा अचम्म लाग्छ’ उनले भनिन्, ‘अनि सोच्छु कस्तो भ्रममा बाँच्ने रहेछ समाज, पढ्दा कसले रोक्छ र ?’

    उनलाई वेद पढाउने गुरु थिए जगमान गुरुङ, जो अहिले नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति छन् । वेद अध्ययनमा उनले देखाएको लगन र दलित भनिएको परिवारकी भएकीले गुरुङले उनलाई शिष्य चुनेका रहेछन् । मनिता भन्छिन्– ‘अहिले सम्झन्छु, त्यहाँ गुरु जगमान गुरुङले त्यति धेरै विद्यर्थीबाट हामीलाई नै किन चुन्नुभएको रहेछ ।’

    मनिता ममता, मन र मेलिना गरी उनीहरु चार दिदीबहिनी छन् । मनितासहित उनका चारैजना दिदीबहिनी वेद पाठ गर्छन् । उनीहरु चारैजना सोही स्कूलका उत्पादन र वेद वाचक हुन् । सानो छँदा देखिनै साई स्कूल आएका छोरीहरुले बाआमालाईसमेत साई भजनमा ल्याए ।

    सामाजिक व्यवस्थाले उनीहरुलाई अछुत र मंगल कार्यबाट टाढा बस्नुपर्ने बनाएको थियो । त्यति मात्र होइन, मंगल काममा उनीहरु नजिक परे साइत विग्रन्छ भन्ने मनोविज्ञानको शिकार सिंगो परिवार भएको थियो ।

    त्यस बाहेक सुन्दास परिवारमा छोरीमात्र जन्मेको र छोरा नभएको पिरलो थियो । अहिले त्यस परिवारका चारवटी छोरी बेदवाचक भएपछि बेग्लै उमङ्ग छ । ‘पहिले दलित भन्थे, त्यसमाथि छोरा छैनन् मान्छेले हेयको भावले हेर्थे । कपडा सिलाउने पेशालले जसोतसो चलेका थियौं, आमा सुमित्राले भनिन्, ‘अपमानित भएको महसुस हुन्थ्यो । तर, अहिले त मंगल कार्यमा बेदका मन्त्र पढ्न छोरीहरुलाई निम्तो आउँछ , सम्मानित जीवन पाएका छौं । हिजोको पीडा सबै भुलियो ।’

    छोरीहरुको प्रगतिबारे आमामा निकै ठूलो गर्व रहेको उनको भाव भंगीमाले बताइरहेको थियो । ‘अहिले त यिनै छोरी देखेर छाती फुल्छ’, यसो भन्दैगर्दा सुमित्राका आँखा खुशीले चम्किएर ठूला देखिए ।

    छोरीहरु वेदवाचक भएको सुमित्राको परिवारका छिमेकी, आफन्त र ग्राहकदेखि सबैलाई थाहा छ । मनिताका बाबु नरबहादुरले पाटनढोकामा डेरामा बसेर कपडा सिलाउने पेशा अपनाउँदै सात जनाको परिवार पाल्दै आएका छन् । ‘म त पसलमा बस्छु, छोरीहरुका कारण वधाई पाइरहेको छु’ नरबहादुरले भने, ‘दलित भनेर हेपिएका हामीले हाम्रा छोरीहरुलाई अरुका घरमा शुभकार्यका लागि बोलाएर पूजा गरेको देख्दा ज्यादै खुसी लाग्छ । छिमेकीहरु पनि छक्कै परेका छन् ।’

    कतिपयबेला नरबहादुरलाई छिमेकीहरुले भन्ने पनि गरेका रहेछन्– किन हाम्रा छोराछोरी यस्ता भएनन् ?
    ब्राह्मण समुदायका धेरै मान्छे छोरीहरु देखेर खुशी साट्न आएका रहेछन् । मनिताका बाबु नरबहादुर भन्छन्, ‘हिजो टीभीमा छोरीहरुलाई देखेकी थिएँ, कस्ता बुद्धीमान रहेछन् छोरीहरु भनेको सुन्दा मेरो मनमा खुशीले सीमा नाघ्छ ।’

    उनीहरुले बेद पढ्न थालेपछि धादिङमा भएको एउटा रमाइलो घटनाले उनीहरु झनै खुसी भए । धादिङस्थित साई केन्द्रमा वेद वाचन भइरहेको थियो । त्यहाँका एकजना पण्डितले उनीहरुको वाचन सुनेर ‘तपाईंहरु मेरो गुरु हुनुहुन्छ’ भन्दै ढोगे । यो घटना मनिताको दिमागमा सधैं आइरहन्छ । भन्छिन्– मानिस पुजिने रंग, जात र अरु कुराले होइनरहेछ, ज्ञानले पुजिने रहेछ ।
    उनीहरुले यस्ता सयौं मंगल कार्यमा वेद पाठः गरिसहेका छन् । दलित समुदायमा त यस्तो कुराप्रति मतलव छैन । तर, अन्य समुदायका मान्छेहरु चाहिँ भेटेर प्रशंसा गर्छन् । छिमेकीहरुको पनि उनीहरुलाई हेर्ने दृष्टि फरक छ । ‘ब्राह्मण सुमदायका मान्छेका घरमा पूजा हुन्छ, यहाँ निम्तो आउँछ । चारवटै दिदीबहिनीलाई पठाइदिनु है भनेर बोलाउनु हुन्छ’ आमा सुमित्राले भनिन्, ‘उहाँहरुले लागेर पाठः गराउनुहुन्छ र पूजा गरेर छोरीहरुलाई ढोग्नुहुन्छ ।’
    वेदका बारेमा उनीहरुको अनुभव भने बेग्लै छ ।
    उनीहरुलाई लाग्छ, वेद जो कोहिले पढ्न सक्ने विषय होइन । यसलाई पढ्न र यसका बारेमा बुझ्न एकाग्र चित्त र धैर्यता हुनुपर्छ । उनीहरुका अनुसार बेद पढ्न आफूलाई स्वरबाट बाहिर फ्याक्न सक्ने र वाचनको समय अन्य ज्ञानेन्द्रीय बन्द गर्न सक्ने खुबी चाहिन्छ । ‘वेद पाठ नै गर्न लामो तपस्या चाहिन्छ’ मनिताले भनिन्, ‘लामो तपस्याविना वेद जोसुकैले वाचन गर्न सक्दै सक्दैन ।’
    लामो लगनपछि वेदवाचक बनेका उनीहरु वेद वाचन गर्न प्रधानमन्त्री र राष्ट्रपति उपस्थित हुने कार्यक्रममा पनि पुगेका छन् । यस्तै कार्यक्रमहरुमा भाग लिन उनीहरु देशका विभिन्न जिल्लादेखि भारतसम्म पनि पुगेका छन् ।

    साई केन्द्रमा जातको कुरा कसैले गर्दैनन् । न त्यस्तो ब्यावहार नै हुन्छ । कसैको घरमा मान्छे मरे, पूजा भयो, घर सर्ने दिन या केही शुभकार्र्य छ भने पनि बेद मंगलवाचनका लागि उनीहरुलाई बोलाइन्छ । अनि स्कूलले खटाएअनुसार वेद पाठ गर्न विद्यार्थीहरु जान्छन् ।

    स्कूलमा वेद पढ्ने दर्जनौ विद्यार्थी छन् । तीमध्ये धेरै बाहुन छन् भने, मगर, सुन्दास, गुरुङहरु पनि उत्तिकै छन् । उनीहरुको स्कुलमा लामो समयदेखि पढाउँदै आएका गुरु डा. जगमान गुरुङले वेदाध्यायनको औचित्य अहिलेको समाजमा झन् धेरै रहेको बताए । उनले एउटा श्लोक सुनाउँदै भने–
    ॐ संगच्छध्वं संवदध्वं संवो मनांसिजानताम ।
    देवभाग यथा पुर्वे संजनाना उपासते ।।
    अर्थात
    हे मनुष्य हो ! अघि जसरी तिम्रा महान पुर्वजहरुले एकमात्र सत्यको उपासना गर्दथे ।
    त्यसैगरी तिमीहरु पनि संगै मिलेर हिँड, एउटै वचन बोल र तिमीहरुको मन पनि एउटै होस।
    मन, वचन र कर्मले एउटै स्थानमा रहेको व्यक्ति जहिलेसुकै शान्त हुने र उसको जीवनमा कहिल्यै वेचैनी नआउने गुरुङको भनाइ छ । ‘मानिसको बोली एउटा, मन अर्कै र कर्म झन् अर्कै भएकाले मानिसमा बेचैनी आउँछ’ गुरुङले भने, ‘मन, वचन र कर्मले जो एकै ठाउँमा हुन्छ, उ सधैं सुखी हुन्छ ।’

    ज्ञानका आधारमा संसारमा मानिसको पूजा हुने गरेको र ब्राह्मण जातका आधारमा नहुने उनले वताए । ‘जो ब्रह्म बुझ्ने हुन्छ, त्यो ब्राम्हण हो । यिनीहरु (सुन्दास परिवार) ले वेद पढेर ब्रह्म बुझेका छन् । त्यसैले यी ब्राह्मण हुन्’ गुरुङले भने, ‘त्यही भएर यिनलाई सबैले पुज्छन् । संसारको हरेक जीव एकै हो । बस उसको कर्मले उसलाई माथि तल बनाउँछ ।’

    प्रतिकृया दिनुहोस