• देश

    जलविद्युत् आयोजनाको सुरुङको प्रवेश मार्ग पहिरोले पुरिँदा १७ मजदुर थुनिए- OmkarTimes.Com

      ओमकार



    रसुवागढी। निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको सुरुङको प्रवेश मार्ग पहिरोले पुरिँदा १७ मजदुर थुनिएका हुन् । बिहीबार साँझ साढे ८ बजे पहाडबाट सुक्खा पहिरो झरेको थियो ।

     

    नेपाल–चीन सीमा क्षेत्रमा रसुवागढी नाकानजिकै यो एक सय ११ मेगावाटको जलविद्युत् आयोजना बनिरहेको छ । गोसाइँकुण्ड गाउँपालिका–२, तातोपानी क्षेत्रबाट करिब सय मिटरमाथि यो परियोजना पर्छ । यो आयोजनाको सुरुङ निर्माण भइरहेको छ । पहिरो गएलगत्तै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खोज तथा उद्धारमा खटिएका छन् ।

     

    ‘उद्धारका लागि पनि हामी तयारी अवस्थामा छौँ । नेपाल प्रहरीको सात, सेनाका १२ र सशस्त्र प्रहरीका २० गरी ३९ जनाको टिम उद्धारका लागि खटिएको छ । तर, राति भएकाले अहिले नै उद्धार गर्न सकिएन । बिहान ६ बजेदेखि नै हामी खट्छौँ । म आफै पनि ५ बजे घटनास्थलमा पुग्ने योजना बनाएको छु,’ प्रजिअ भण्डारीले भने ।

     

    माटो र ढुंगा झरेकाले बाटो अवरुद्ध भएको तथा विद्युत् आपूर्ति पनि बन्द भएकाले मजदुरहरूलाई तत्काल बाहिर निकाल्न नसकिएको आयोजना प्रमुख छवि गैरेले बताए ।
    ‘मानवीय क्षति भएको छैन, कामदार सकुशल छन्, उनीहरूलाई बाहिर निकाल्न बिहान उज्यालो हुनासाथ उद्धार कार्य तीव्र गतिमा अगाडि बढाइन्छ,’ गैरेले भने । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारी भन्छन्–भित्र ११ नेपाली र ६ चिनियाँ मजदुर छन्, राति नै उद्धार गर्न सम्भव भएन, शुक्रबार बिहानैदेखि खट्छौँ।

    प्रतिकृया दिनुहोस