• समाचार

    जनताको जनमतले मात्रै संविधानको रक्षा हुने: महेश आचार्य

      ओमकार संवाददाता

    विराटनगर/ नेपाली काँग्रेसका  नेता तथा पुर्व अर्थमन्त्री महेश आचार्यले जनताको जनमतले मात्रै संविधानको रक्षा  हुनसक्ने बताउनुभएको छ । पार्टीको पुर्वनिर्धारित कार्यक्रम अनुसार सोमबार विराटनगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधानको व्याख्याताको रुपमा रहेको सर्वोच्चले पनि जनताको पक्षमा नै न्यायपुर्ण निर्णय गर्ने र प्रतिनिधिसभा पुर्नस्थापना हुने बिषयमा नेपाली काँग्रेस विश्वस्त रहेको जिकिर गर्नुभयो । एउटा मुद्दा सर्वोच्चमा र अर्को मुद्दा जनताको अदालतमा चलिरहेको छ, उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले जसरी लोकतन्त्र र जनताको विश्वासमाथि प्रहार गर्नुभएको छ, यो अपराधको भार उहाँले बोक्नैपर्छ । यसको फैसला जनताको अदालतमा हुन्छ ।’

    प्रतिनिधिसभा विघटन मात्रै नभई ३ वर्षअघि पनि प्रधानमन्त्री ओलीले मानवअधिकार सम्बन्धि कानुन निमार्ण गर्दा संविधानको बेवास्ता गरेको नेपाली कांग्रेसका नेता आचार्यले टिप्पणी गर्नुभयो । संविधानले संवैधानिक हैसियतमा राखेको मानवअधिकारको सिफारिशलाई प्रधानमन्त्री ओलीले आफ्नो सल्लाहकारको कार्यालयको छानबिनको बिषय बनाएर संविधानसँग खेलवाड गरेको उहाँको आरोप छ । आज ३ बर्षपछि प्रधानमन्त्री ओलीले पुनः सोही ईतिहासलाई गम्भीर रुपमा  दोहो¥याउनुभएको उहाँले स्पष्ट पार्नुभयो ।

    प्रधानमन्त्री ओलीको पछिल्लो ३ बर्षे कार्यकालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने, अदालत तथा प्रशासनलाई पार्टीकरण गर्ने र जातजाति, धर्म तथा आस्थाको नाममा जनतासँग भेदभाव गर्ने परिपाटीको विकास भएको नेता आचार्यले आरोप लगाउनुभयो । उहाँले जनताको जनजीविकासँग जोडिएको मुद्दाहरु अझै पनि सम्बोधन हुन नसकेको र उल्टै मुलुकमा भ्रष्टाचार मौलाएको टिप्पणी गर्नुभयो ।कोरोना महामारीका बिच हजारौं आम नेपालीले अकालमै ज्यान गुमाईरहेको अवस्था पनि प्रधानमन्त्री ओलीका आसेपासे र मन्त्रीहरुले मास्क, स्यानिटाईजर र स्वास्थ्य उपचारका उपकरण लगायतको खरिदमा समेत अरबौंको भ्रष्टाचार गरेको दाबी गर्नुभयो ।

    सडकबाट हामीले लोकतन्त्रको रक्षार्थ विदेशका नेताहरुलाई मदत गर्नुहोस भनेर गुर्हान चाहँदैनौं, उहाँले भन्नुभयो, ‘हामी आफ्नै गाउँघरतिर फर्किन चाहन्छौं, झुपडीमा बसेका जनताको घरदैलोमा फर्किन चाहन्छौं, हामी पुुनः पनि कांग्रेसको झोलामा आर्शिवाद थाप्न चाहन्छौं ।’कांग्रेसले प्रधानमन्त्री ओलीको ३ वर्षे कुशासनको हिसाब जनताको अदालतमार्फत लिने नेता आचार्यको तर्क छ । यस्तै कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसका केन्द्रिय सदस्य अमृत अर्यालले प्रतिगमन विरुद्ध कांग्रेस एक्लैले निर्णय गरि अघि बढ्नुपर्छ भन्ने पक्षमा रहेको जिकिर गर्नुभयो ।

    प्रतिनिधिसभा विघटन विरुद्ध नेपाली कांग्रेसले भने पहिलो चरणमा देशको १ सय ६५ वटा प्रदेशसभा निर्वाचन क्षेत्र, दोश्रो चरणमा ३ सय ३० वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र, तेश्रो चरणमा पालिकास्तरीय र चौथो चरणमा वडास्तरीय विरोध प्रर्दशन तथा जनतालाई सु–सुचित गराउने कार्य गरिसकेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस