• खेलकुद

    महिला लिग : आर्मी र पुलिस तथा एपीएफ र विराटनगर भिड्दै

      ओमकार टाइम्स


    काठमाडौँ : राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र पुलिसबीचको खेल अपरान्ह १२ बजे सुरु हुनेछ । यस खेल आर्मीका लागि महत्वपूर्ण रहेको छ । दोस्रो स्थानमा रहेको आर्मीलाई उपाधिको सम्भावना कायम राख्न जित्नै पर्ने दबाब छ ।

    पुलिसलाई पराजित गरेमा आर्मीको उपाधि होड कायम रहनेछ । आर्मी पुलिससँग पराजित भएमा शीर्ष स्थानको एपीएफले दुई खेल अगावै उपाधि जित्नेछ । आर्मीको १० खेलमा २५ अंक जोडेको छ । पाँचौं स्थानको पुलिसको १४ अंक रहेको छ । उपाधि नजिक रहेको एपीएफको ३० अंक रहेको छ ।एपीएफले आजै विराटनगर महानगरपालिकासँग खेल्नेछ । एपीएफ र विराटनगरबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । एपीएफ विराटनगरलाई हराएर एक खेल अगाबै उपाधि जित्न चाहन्छ । एपीएफलाई उपाधिका लागि एक जितको खाचो रहेको छ ।

    जारी लिगमा एपीएफ अपराजित रहने एक्लो टिम हो । तर, चोटको कारण मुख्य स्ट्राइकर सावित्रा भण्डारीले खेल्ने छैनन् । उनी करिब एक वर्ष मैदान बाहिर रहने भएकी छिन् । विराटनगर भने एपीएफलाई हराएर तेस्रो स्थान सुरक्षित बनाउन चाहन्छ । विराटनगर ११ खेलमा १६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

    प्रतिकृया दिनुहोस