• समाचार

    नाका नखुल्दा सीमा क्षेत्रका व्यवसायी सङ्कटमा

      ओमकार टाइम्स

    झापा । कोभिड–१९ को महामारी नियन्त्रणका लागि खोप लगाउन शुरु भइसक्यो । तर सरकारले भारतसँगका सीमा नाका खुला गरेको छैन । नाका बन्द हुँदा सीमा वरपरका ठूला बजार र होटेल व्यवसाय सङ्कटग्रस्त बनेका छन् । झापाको काँकडभिट्टा, धुलाबारी, भद्रपुर, गौरीगञ्जलगायत सीमावर्ती बजार खुलेका छन् तर चहलपहल छैन । सरकारले गत वर्षको चैत ११ गते बन्दाबन्दी घोषणा गरेसँगै सीमा नाका बन्द भए । त्यसको तीन महिनापछि बन्दाबन्दी खुल्यो, तर नाका खुलेन ।

    एघार महिनादेखिको लगातार नाका बन्दले सीमा क्षेत्रको होटेल र अरू व्यवसाय चौपट भएको होटेल व्यवसायी सङ्घ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठले बताए । उनका अनुसार पूर्वीद्वार काँकडभिट्टामा मात्र चार सयभन्दा साना ठूला होटेल सञ्चालनमा छन् । यसै वर्ष मेचीनगरमा खुलेको पाँचतारे होटेल मेची क्राउन पनि नाका नखुल्दा पर्यटक अभावमा सङ्कट झेलिरहेको छ । होटेल व्यवसायी सङ्घ मेचीनगरका अध्यक्ष श्रेष्ठका अनुसार बन्दाबन्दी यता काँकडभिट्टाका थुप्रै होटेल व्यवसायी पलायन भइसकेका छन् । कतिले घरधनीको भाडा तिर्न नसक्दा होटेलको तालाचाबीसँगै फर्निचरलगायत सामान घरधनीलाई बुझाएर व्यवसाय त्यागेका छन् ।

    काँकडभिट्टामा व्यवसायीहरुले सङ्घर्ष समिति गठन गरेर एक महिना निरन्तर आन्दोलन सञ्चालन गरे । नाराजुलुस, धर्ना र सभाको बाक्लै कार्यक्रम आयोजना गर्दासमेत सरकारले व्यवसायीको पीरमर्का नसुनेको अध्यक्ष श्रेष्ठले गुनासो गरे । धर्नाका क्रममा प्रहरीसँग व्यवसायीको झडप भएको थियो । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक सुनिल दाहालले माथिबाट आदेश नआएसम्म नाका नखुल्ने बताए । तर आवश्यक कामकाजका लागि स्वास्थ्य मापदण्ड पूरा गरेर नाकाबाट दुवै देशका नागरिकले आउजाउ गर्न पाइरहेको उनले बताए ।

    भारतबाट आँखाको उपचारका लागि काँकडभिट्टा हुँदै दिनहुँ सयौँ भारतीय नागरिक नेपाल आउने गर्छन् । उपचारका लागि नेपाल आउने र नेपालबाट भारत जानेलाई अवरोध नगरिएको प्रहरीको भनाइ छ । विगतको तुलनामा हाल नाकामा आवतजावत खुकुलो बनाइए तापनि पर्याप्त नभएको व्यवसायीहरुको भनाइ छ । काँकडभिट्टा नाकाबाट आउजाउ गर्नका लागि मोटरसाइकल र सिटी रिक्साहरुलाई पुलसम्म जान दिइएको छ । बिरामी बोकेका एम्बुलेन्सहरु नाका पार भएर जाने गरेका छन् । पैदल यात्रीको भीड चाहिँ बढिरहेको छ । भारतीय नाका पानीट्याङ्कीमा नेपालीहरुलाई सीमा पार गर्न नागरिकता देखाउनपर्ने हुन्छ ।

    प्रतिकृया दिनुहोस