• विचार

    अपराध र कुशासनका विरुद्धमा नकारात्मकपन बढ्नु सकारात्मक सोंच हो | Bharat Dahal

      ओमकार


    नेपालीहरुमा अराजकता, अशिष्टता, नकारात्मकता, मानमर्दन, गालिगलौजका प्रवृतिहरु बढेर गएका छन् भनेर सामाजिक सञ्जालमा लेख्ने मानिसहरुको आलोचना गर्ने “सभ्य” विद्वानहरुका मिठा अर्तिहरु सुनिन थालेका छन्।

     

    यस्ता नकारात्मक भाषाहरु लेखिनु हुँदैन भन्ने कुरा तिनीहरुले पढाईरहनु पर्ने कोर्ष होईन।

     

    नकारात्मक सोंचको श्रोत के हो ? संसारमैं सहिष्णु मानिएको नेपाली जाति किन नकारात्मक बन्दै गएको छ ? रातको समयमा घरमा आएको बटुवालाई आफू भोकै बसेर भए पनि आतिथ्य दिने नेपाली संस्कृति के कारणले मन नपर्नेहरुको मानमर्दन, अभद्र व्यवहार र रूखाेपनका रुपमा परिणत हुँदै गएको छ ?

     

    यसको जबाफ ६० लाख नेपाली देश निकाला गरेर रातारात अरबपति बन्ने अपराधिहरुको जीवनमा खोज ! यसको जबाफ जनताको कर मोजमस्तिमा उडाएर भ्रष्ट ऐय्यासि जीवन बिताउने कुलिनहरुको जीवनमा खोज ! यसको जबाफ देश डुबाएर कुर्सिका लागि विदेशीको चौकिदारी गर्ने दलाल चरित्रमा खोज !

     

    एउटा लम्पट आवारालाई गरिने सम्मानको भाषा कस्तो हुन्छ ? अर्काको खुनपसिना चोरी गर्ने चोरलाई कुन शैलिमा सम्मान गरिन्छ ? पराईको जुठोपुरो चाट्नका लागि जन्म दिने आमाको अस्मिता बेच्ने गद्दारलाई सम्मानजनक रुपमा गरिने प्रणाम कस्तो हुन्छ ? जागिरे उपदेशकहरुले यी प्रश्नबारे कहिल्यै सोंचे ?

     

    नेपालीहरुमा बढ्दो नकारात्मक भावलाई व्यक्तिगत दोषका रुपमा देखाएर विद्वान भै टोपल्न खोज्नेहरु घ्यू खाने मौका ढुकेर बसेका अवसरवादीहरु हुन्। प्रत्येक मानिसको सामाजिक चेतना उसको परिवेशको उपज हुन्छ। परिवेश जस्तो छ, मानिसको सोंच त्यस्तै बन्दै जान्छ। यो प्रतिकृयात्मक उत्पत्ति हो।

     

    घोर नकारात्मक प्रवृति विद्रोहको पूर्व संकेत हो। काण्डैकाण्डका अपराधका चाङ र कुशासनका विरुद्धमा नकारात्मकपन बढ्नु सकारात्मक सोंचको दिशा हो। हर प्रकारका शासकिय कुप्रवृतिहरुप्रति मौन रहने वा नबोल्ने प्रवृतिले नै नेपालीहरुले धोखा पाएका हुन्। अपराधिहरुप्रतिको सहिष्णुता र उदारताले नेपाल यस्तो भएको होईन ?

    प्रतिकृया दिनुहोस