• समाचार

    भागरथीको परिवारले शव बुझे

      ओमकार टाइम्स


    काठमाडौं । । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ । परिवारले शव बुझ्ने भएपछि भागरथीको मृत्यु भएको १७ औँ दिनमा दाहसंस्कार गरिने भएको हो ।
    भागरथीको परिवारले यसअघि शव बुझ्न मानेको थिएन ।

    आरोपी दिनेश भट्टले बलात्कार गरेको भन्नेमा परिवारले विश्वास गरेको थिएन । तर, परिवारसहित सरकारी वकिलसँगको बयानमा दिनेशले आरोप स्वीकार गरेपछि विश्वस्त भएको बुझिएको छ । बिहीबार दिनेशका बुवा, अनुसन्धान अधिकृत र सरकारी वकिल सामु गर्न लगाएको बयानमा दिनेशले आफूले नै बलात्कारपछि हत्या गरेको स्वीकारेका थिए । बलात्कार र हत्या आफैँले गरेको दिनेशले स्वीकार गरिसकेपछि भागरथीका घरपरिवारले शव बुझ्न मानेको हो ।

    प्रहरीले बुधबार चडेपानीकै दिनेश भट्टलाई आरोपीका रुपमा सार्वजनिक गरेको थियो । दिनेशले बुधबारसम्म भागरथीको हत्या मात्रै गरेको बताएका थिए । तर, शव परीक्षण रिपोर्टमा भने बलात्कारपछि हत्या गरिएको उल्लेख गरिएको थियो । गोठलापानीबाट भागरथीको शवयात्रा भएको बुझिएको छ । गोठलापानीबाट सेरासम्म शवयात्रा गरी सेरास्थित महाकाली आर्यघाटमा अन्तिम संस्कार गरिने लागिएको हो ।

    गत माघ २१ गते विद्यालयबाट घर जान हिडेँकी भागरथीको साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकै रहेको लवलेक जङ्गलमा विभत्स र निर्वस्त्र अवस्थामा शव फेला परेको थियो । उनको बलात्कारपछि हत्या भएको निष्कर्षमा पुगेको प्रहरीले १३ दिन अनुसन्धान गरेर दिनेशलाई पक्राऊ गरेको थियो । दिनेश भागरथी पढ्दै आएको सनातन धर्म उच्च मावि खोचलेकमा कक्षा ११ मा अध्ययनरत थिए । भागरथी सोही विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् ।

    प्रतिकृया दिनुहोस