• खेलकुद

    राष्ट्रिय महिला लिग: च्याम्पियन एपिएफको जित

      ओमकार टाइम्स


    काठमाडौं । राष्ट्रिय महिला लिगका दुई खेल बाँकी रहँदै च्याम्पियन बनेको सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कूल १२ खेलमा सतप्रतिशत नतिजा कायम राखेको छ । शुक्रबार भएको लिगको अन्तिम खेलमा विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई ३-० को नतिजामा पराजित गर्दै एपिएफले लिगको सुखद् समापन गर्‍यो ।

    शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको ४५औं मिनेटमा एपिएफकी मिडफिल्डर सरु लिम्बुले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् । दोस्रो हाफमा थप आक्रामक बनेको एपिएफका लागि फरवार्ड अनिता केसीले ८६औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारेकी थिइन् ।खेलको इन्जुरी समयमा सरुले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको सहज जित सुनिश्चित गरिन् ।

    स्टार खेलाडी सावित्रा भण्डारी दशौं खेलमा घाइते भएपछि एपिएफले अन्तिमका दुई खेल उनी बिना खेलेको थियो । सत प्रतिशत जितसँगै एपिएफले १२ खेलमा अंक जोडेको थियो भने दोस्रो स्थानको त्रिभुवन आर्मी क्लबले २६ तथा तेस्रो स्थानको पुलिसले १८ अंक जोडेका थिए ।जारी प्रतियोगितामा एपिएफले एपिएफविरुद्धको खेलमा एकमात्र गोल खाएको थियो ।

    दोस्रो स्थानको त्रिभुवन आर्मी नेपाल पुलिस क्लबसँग बराबरीमा रोकिएसँगै दुई खेलअघि नै एपिएफ च्याम्प्यिन बन्ने निश्चित भएको थियो । लिगमा एकतर्फी नजिता निकाल्दै च्याम्पियन बनेको एपिएफ क्लबले १५ लाख रूपैयाँ प्राप्त गरेको छ । त्यस्तै, दोस्रो भएको त्रिभुवन आर्मी क्लबले ८ लाख तथा तेस्रो भएको नेपाल पुलिस क्लबले ५ लाख रूपैयाँ प्राप्त गरेको छ । फेयर प्ले टीमले थप १ लाख ५० हजार प्राप्त गर्ने आयोजकले बताएको छ । लिगमा सहभागी हुने सबै टोलीले १ लाख रूपैयाँ तयारी खर्च र ५० हजार रूपैयाँ कोरोना राहत प्राप्त गर्नेछन् ।लिगकी सर्वोत्कृष्ट घोषित हुने खेलाडीले स्कुटर तथा उत्कृष्ट स्ट्राइकर, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकले ५० हजार रूपैयाँ प्राप्त गर्नेछन् ।

    प्रतिकृया दिनुहोस