• राजनीति

    प्रचण्ड गलत राजनीतिक बाटोमा पुगे : ओली

      ओमकार टाइम्स

    विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गलत राजनीति रोजेको बताएका छन् ।शनिबार विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली आफूलाई प्रचण्डको माया लाग्ने बताएका हुन् ।

    ‘पहिलो उहाँसग वैद्य हुनुहुन्थ्यो, वैद्यले उहाँलाई छाड्नु भयो त्यसपछि उहाँले डाक्टर लिनुभयो । डाक्टरले पनि उहाँलाई छाड्नु भो अहिले झाँक्री लिनुभएको छ’, प्रधानमनत्री ओलीले भने, उहाँलाई अब झाँक्रीले बचाउन सक्दैन । उहाँले राजनीतिमा गलत बाटो छान्नु भो ।’ विगतमा प्रचण्डको सारथीको रुपमा मोहन वैद्य र डा बाबुराम भट्टराई रहेका थिए भने उनीहरुहले प्रचण्डको साथ छाडेर बाटो लागेको सन्दर्भमा अहिले रामकुमारी झाँक्रीहरुलाई लिएर अघि बढेको ओलीको कटाक्ष थियो ।

    उनले प्रचण्डले विकासको राजनीतिमा व्यवधान हालेको बताए । ओलीले प्रचण्ड–नेपाल पक्षले पार्टी छाडेर गएको पनि दावी गरे । उनले सो पक्ष पार्टीबाट गएपछि मात्र संवैधानिक नियुक्त गर्न सफल भएको दाबी समेत गरे । उनीहरुले विकासको विरोध गरेको कारण संवैधानिक परिषद्को बैठकहरु बस्न नसकेको बताउँदै ओलीले नेपालबाट कम्युनिस्ट सिध्याउनका लागि केही व्यक्ति लागि परेको पनि दावी गरे ।

    उनले केही दिन पहिले प्रचण्ड–माधव समूहले केपी ओली जनसहभागिता यता हेर्न आउ भनेको प्रति कटाक्ष गर्दै भने, ‘आज भन्छु यता एकपटक नजर लगाउनुस् ।’ विराटनगरमा शनिबार भएको आफूपक्षीय सभामा उनले जनसहभागितालाई ‘ड्रोनले पनि फोटो खिच्न सक्दैन, चन्द्रमाले मात्र हेर्न सक्छ’ भन्दै विशाल सहभागिता रहेको बताए ।उनले प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कडा आलोचना पनि गरे ।
    उनले जनसहभागिता कस्तो हुन्छ भन्ने जान्न विराटनगरको सभा हेर्न पनि प्रचण्ड नेपाल समूहलाई चुनौति दिए ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अब काँध हाल्न नसकिने टिप्पणी गरे । ओलीले प्रचण्डलाई राम–राम मात्र भन्न सकिने तर काँध हाल्न नसकिने बताए । प्रचण्ड खिइएर सकिन लागेको उनको भनाइ छ ।

    उनले भने, ‘सिधिसकेका प्रचण्डलाई ल्याएर मैले एउटा ठूलै जुरा हाल्दिएँ । अलिकति सिङ हाल्दिएँ। पछि हामीलाई नै सिध्याउँछु भन्न थाल्नु भो । अब प्रचण्डलाई काँध हाल्न सकिन्न । राम भन्न मात्र सक्छौँ । उहाँ खिँइदै खिँइदै गएर सकिन लाग्नुभएको छ ।’

    प्रतिकृया दिनुहोस