• समाचार

    नाँच्न नपाएको झोँकमा मध्यरातमा बिहेघरमै आक्रमण र डकैती : बेहुलाका बाबुसहित ४ घाइते

      ओमकार टाइम्स

    विराटनगर – मोरङको केराबारीमा विवाहकै घरमा भएको आक्रमणमा बेहुलाका बुवासहित ४ जना घाइते भएका छन्। केराबारी गाउँपालिका–७ नर्कटेमा विवाह घरमा आएको एक समूहले आक्रमण गर्दा बेहुली बुवासहित चारजना घाइते भएका हुन्।

    जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आक्रमणमा संलग्न समूहले बिहेघरमा लुटपाट गरेको छ। नर्कटेका भागिमान लिम्बूकी छोरीको बिहेमा आएको १०–१२ जनाको समूहले आक्रमण गरेको हो।

    आक्रमण पश्चात पैसा र सुनचाँदी लुटेको स्थानीयले बताएका छन्। आक्रमणबाट बेहुलीका बुवा ५९ वर्षीय भागिमान, दिदी ३० वर्षीया सबिना लिम्बू (राई), कान्छा मामा केराबारी–९ का ४५ वर्षीय भगत याक्खा र बिहेमा बेहुलातर्फबाट जन्ती आएका भोजपुर नगरपालिका–७ का ३३ वर्षीय रमेश राई घाइते भएका छन्।

    घाइतेहरूको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। भागीमान र भगतको अवस्था गम्भीर रहेको अस्पतालले जानकारी दिएको छ।

    भागिमानकी छोरी २३ वर्षीया सम्झना लिम्बू र नुवाकोट घर भएका सुदीप राईको बिहे शुक्रबार राति गरिएको हो। विवाह सकिएपछि आफन्त सुतेका बेला उक्त समूहले आक्रमण गरेको हो।

    जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार शुक्रबार रातिको वैवाहिक कार्यक्रममा मादकपदार्थ सेवन गरी विवाह घरमा पुगेको एक समूहले साउण्ड सिस्टम बजाएर नाच्न पाउनुपर्ने भनेर विवाद शुरु गरेको थियो।

    तर, फेरि मध्यरातमा आएको उक्त समूहले परिवारका सदस्यमाथि आक्रमण गरेको हो। विवाद भएपछि प्रहरी बोलाइए पनि प्रहरी फर्किए लगत्तै उक्त समूहले आक्रमण गरेको हो।

    आक्रमणमा संलग्न केराबारी–७ का २८ वर्षीय मुस्कान चेम्जोङ, २५ वर्षीय निशान चेम्जोङ, ३० वर्षीय विश्वास लिम्बू, केराबारी–८ का २२ वर्षीय भाइराजा लिम्बू लगायतको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।

    प्रतिकृया दिनुहोस