• राजनीति

    प्रधानमन्त्रीको सुरक्षा दिन हामी तयार छौं : माधवकुमार नेपाल

      ओमकार टाइम्स

    विराटनगर । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले अविश्वास प्रस्ताव सम्बन्धमा संसद् सचिवालयले निर्णय गरी प्रक्रिया अघि बढ्ने बताएका छन् ।

    मंगलबार प्रेस संगठन मोरङले विराटनगरमा गरेको पत्रकार सम्मेलनमा नेता नेपालले प्रतिनिधिसभामा जुनसुकै दलले अविश्वास प्रस्ताव दर्ता गरे पनि आफूहरुले समर्थन गर्ने बताए ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मालोचना गरेर आए पार्टीमा ठाउँ पाउने उनले उल्लेख गरे । ‘ओली सच्चिएर आउनेलाई पार्टीमा ठाउँ छ,’ उनले भने ।आन्दोलनमा रहेका प्रतिगमनविरोधी दलसँग सत्ता सहकार्य हुने उनले स्पष्ट गरे । ‘नेपाली कांग्रेस, नेकपा र समाजवादी पार्टीसँग छलफल हुन्छ,’ उनले भने, ‘हामी वा जसले अविश्वासको प्रस्ताव दर्ता गरे पनि समर्थन हुन्छ ।’ उनले वर्तमान राजनीतिका सन्दर्भमा नेकपा दाहाल नेपाल पक्ष, कांग्रेस र जसपा बीच घनिभुत छलफल भएर नयाँ सरकार गठन गरिनेमा जोड दिएका थिए ।

    उनले भने, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससंग छलफल जारी रहेको छ । हामी सहमतिमै नयाँ सरकार गठन तयार छौँ । यसक्रममा हामीलाई प्रधानमन्त्री नचाहिने बताइसकेका छौँ ।
    प्रधानमन्त्री केपी ओलीको ज्यानकै खतरा छ भने नेकपाले रक्षा गर्ने उनले बताए । ओलीको ज्यान सुरक्षा गर्ने जिम्मेवारीका लागि आफूहरु तयार रहेको उल्लेख गरे । प्रधानमन्त्री ओलीले आफूमाथि भौतिक आक्रमण हुनसक्ने बताएर सुरक्षामाथि नै प्रश्न चिन्ह उठाएकोमा ब्यङ्ग गर्दै नेता नेपालले प्रधानमन्त्रीको सुरक्षाबारे सबैले विचार गर्नुपर्ने समय आएको बताए । नेपालले भने, ‘प्रधानमन्त्री नै सुरक्षित नभएको, ज्यानको खतरा छ भन्दै हिडिरहनु भएको छ । जुन गम्भीर कुरा हो। प्रधानमन्त्री असुरक्षित हुनुहुदैन । उहाँको जीवन सुरक्षित गर्ने जिम्मेवारी हामीले बोक्नु परे तयार छौ ।’

    नेकपाभित्रको विवादपछि आधिकारीक रुपमा पार्टी आफूहरुको रहेको संकेत निर्वाचन आयोगले समेत गरेको उनको भनाई छ । दुईतिहाई बढी हामीसँग हुँदा पनि आयोगले निर्णय लिन नसकेको उनले बताए । ‘आयोगले कहिले निर्णय गर्छ भन्ने कुराको जिम्मा हामी लिदैनौ ।’ उनले भने, ‘तर आयोगलाई भड्काउने पक्षमा छैनौं।’

    ४ सय ४१ सदस्यको साथ रहेको दाबी गरेका नेता नेपालले बहुमत कसको साथमा भन्ने कुराको प्रमाण दिन तयार आफू तयार रहेको बताए ।उनले भने, ‘हामी रगत, खकार, पासपोर्ट, नागरिकताजुनसुकै प्रमाण दिन तयार छौँ । लाइसेन्ससमेत पनि दिन्छौँ । तर मेरो लाइसेन्स रिन्यू फेल भएको अवस्थामा छ । त्यो पनि चाहिन्छ भने दिन तयार छु ।’

    प्रतिकृया दिनुहोस