• मुख्य

    गौरादह खानेपानीमा भद्रगोल , लाखौं रुपैयाँ घोटालाको आशंका

      केदार खड्का

    दमक । झापाको गौरादह नगरपालिकाको खानेपानी सरसफाइ तथा उपभोक्ता समितिमा ठूलो आर्थिक अनियमितताको आशंका गरिएको छ । खानेपानीमा कार्यरत लेखापाल प्रेम शिवाकोटीले समितिलाई जानकारी नगराई सफ्टवेयर कम्पनीसंग खानेपानीको तथ्यांक मेटाएर नयाँ तथ्यांक हाल्न लगाएपछि अनियमितताको आशंका गरिएको हो ।

    गत साउन महिनादेखि यताको हिसाबकिताबमा करिव ३५ लाख रुपैयाँ फरक देखिएपछि लेखापाल शिवाकोटीले सफ्टवेयर कम्पनीका कुशल कठायतलाई सम्पर्क गरि हिसाबकिताब मिलन गर्न आग्रह गरेका थिए । उनको आग्रहलाई सहज रुपमा स्वीकार्दै एचटुओ सफ्टवेयर कम्पनीका कठायतले खानेपानी समितिको निर्णय बिनै हिसाबकिताब मिलान गरिदिएपछि उक्त सफ्टवेयर कम्पनी पनि यस घोटाला काण्डमा शंकाको घेरामा तानिएको छ ।

    यसै सन्दर्भमा एचटुओ सफ्टवेयर कम्पनीका कुशल कठायतसंग सम्पर्क गर्दा कठायतले भने `हामीलाई लेखापाल साहेवले मिस्टेक भयो सच्याइदिनुपर्यो भन्नुभयो हामीले सच्याइदियौं ।´ एक व्यक्तिले समितिको निर्णय बिनै हिसाबकिताब सच्याइदिनु भन्ने बित्तिकै सच्याउनु कति ठिक हो ? भन्ने प्रश्नमा `त्यो चाहिँ हामीबाट गल्ती भएको हो ।´ कठायतले भने । त्यस्तै  खानेपानीका लेखापाल शिवाकोटीले ओमकार टाइम्स प्रतिनिधिसंग कुरा गर्दै भने ` डेबिट र क्रेडिट नजान्दा हिसाबकिताबमा समस्या भएको हो आर्थिक अनियमितता भएको छैन ।´ उपभोक्ता समितिलाई जानकारी नगराई सफ्टवेयर कम्पनीसंग सम्पर्क गरि किन एकलौटी हिसाबकिताब मिलान गर्नु भयो त ? भन्ने ओमकार टाइम्स प्रतिनिधिको प्रश्नमा लेखापाल शिवाकोटीले त्यो चाहिँ आफूबाट गल्ती भएको स्विकारे ।

    यता खानेपानी उपभोक्ता समितिका अध्यक्ष बाबुराम भण्डारीसंग सम्पर्क गर्दा `अहिले हामीले छानबिन समिति बनाएका छौं । छानबिन समितिको रिपोर्ट आएपछि मात्र सबैकुरा छर्लङ्ग हुन्छ । अहिलेलाई हामीले लेखापाल शिवाकोटीलाई छानबिन समितिको रिपोर्ट नआउनजेलसम्म काम गर्नको लागि रोक लगाएका छौं ।´ भण्डारीले भने ।

    लेखाको सामान्य ज्ञान नभएका लेखापाल , दोष कस्को लेखापाल कि समितिको ?

    प्रेम शिवाकोटी २०५९ सालदेखि गौरादह खानेपानीमा कार्यरत कर्मचारी हुन् ।सुरुमा अपरेटर, मिटर रिडर , कार्यलय सहायक हुँदै २०७५/७६ को साधारणसभाबाट लेखापालमा नियुक्त भएका कर्मचारी हुन् ।

    ओमकार टाइम्स प्रतिनिधिसंग कुरा गर्दै उनले प्रष्ट रुपमा डेबिट र क्रेडिट हिसाब राख्न नजान्दा यो समस्या आएको बताए । एकजना लेखापालले लेखाको सामान्य कुरा डेबिट र क्रेडिट नै राख्न जान्दैन भने उसलाई कसरी र के नियतले लेखापाल जस्तो आर्थिक संबेदनसिल पदमा राखियो ? प्रश्न आफैमा गम्भीर छ । यो प्रश्नको जवाफ न खानेपानीका समितिमा बस्नेहरुले खोजे न आफ्ना कर्मचारीलाई सम्बन्धित कार्यको तालिम दिएर दक्ष बनाउने चेष्टा नै गरे ।यी सम्पूर्ण कुराले अत्यन्तै गम्भीर प्रश्न जन्मायो दोष कस्को ? लेखापाल को कि समितिको ? प्रश्नको गम्भीरतालाई बुझेर सबैले आ-आफ्नो ठाउबाट जवाफ खोज्ने हो कि ?

    प्रतिकृया दिनुहोस