• राजनीति

    मुलुकको भविष्यको फैसला गर्न जनमत संग्रह आवश्यक : विप्लव

      ओमकार टाइम्स

    काठमाडौं । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारसँग भएको तीन बुँदे सहमति केवल दुई पार्टी र दुई नेताबीचको नभइ नेपाललाई सुन्दर, स्वाधीन र समृद्ध बनाउने सपना लुकेको बताएका छन् । विप्लवले सरकारसित भएको तीनबुँदे सहमति पालन गर्ने प्रतिबद्ध पनि जनाएका छन् ।

    राष्ट्रियसभागृहमा शुक्रबार आयोजित कार्यक्रममा सहमतिपत्रमा हस्ताक्षरपछि बोल्दै विप्लवले सहमति कार्यान्वयनमा शंका नगर्न आग्रह गरे । ‘यस सहमति राज्य र नेकपाबीच मात्र होइन, यस सहमतिका पछाडि महान आकांक्षा छ, देशलाई सुन्दर देश बनाउने सपना छ,’ उनले भने ।

    ‘तीनबुँदेमा प्रतिबद्ध छौँ । पालना गर्छौँ । कोहीबाट पनि आशंका, उत्तेजना र कुतर्क गर्न जरूरी छैन । यो अगाडि पनि प्रधानमन्त्रीसँग हाम्रो कुरा भएको थियो । जनतासँग श्रममा उभिएर देश बनाऔँ भनेर भनेका थियौँ,’ उनले भने ।

    उनले नेपाल सरकार र आफ्नो पार्टी दुवैका तर्फबाट भूमिका खेल्ने सबैलाई पनि धन्यवाद दिए ।‘नेपाली जनताको अहिलेसम्म पूरा नभएको सबै आकांक्षा र नेपाली जनताभित्र हुर्किएको सम्बृद्ध जीवनको चाहना लुकेको छ,’ उनले भने । उनले यस क्रममा क्रान्तिकारी अग्रजहरुलाई पनि सम्झिए ।‘आजको दिनमा सहिदहरुले निश्चल सपना बोकेर, उत्कृष्ट आकांक्षा राख्दै नेपाली जनताको सुखद भविष्यका लागि जुन कामना गरेका थिए, त्यसलाई सम्झन चाहन्छु,’ उनले भने ।

    उनले सहिदको र नेपाली जनताको चाहना पूरा नभइसकेको उल्लेख गर्दै जुन उद्देश्य लिएर कम्युनिष्ट आन्दोलनमा सहभागी भएको हो, त्यसलाई पूरा गर्ने प्रतिबद्धता पनि जनाए ।
    विप्लवले कम्युनिस्टहरु विद्रोही मात्रै नभएर शान्तिका दूत समेत भएको बताए । सहिदको सपना र जनताको चाहना पूरा गर्न आफूहरु शान्तिपूर्ण राजनीतिमा फर्किएको बताए ।

    केपी ओली नेतृत्वको सरकारसँग भएको सहमतिलाई उनले ‘घाम र जूनको भेट’सँग तुलना गर्दै भने ‘धेरैले अनेक अनुमान गरेका छन् तर यो सहमति घाम र जूनको भेट जस्तै हो । त्यो सम्भव बनाएर हामी देखाउँछौँ ।’यस्तै सरकार र आफ्नो पार्टीको वार्ता एक सहमति मात्रै नभएर समृद्ध नेपाल बनाउने सिंगो सपना भएको कुरा । विप्लवले मुलुकको भविष्यको फैसला गर्न जनमत संग्रहमा जानुपर्ने धारणा पनि राखेका छन् ।

    प्रतिकृया दिनुहोस