• समाचार

    नक्कली नोट छाप्ने मेसिनसहित एक जना पक्राउ

      ओमकार टाइम्स

    कञ्चनपुरको कृष्णपुर नगरपालिका-९ स्थित पिपरीयाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । २५ वर्षीय संजय रानालाई १ हजार दरको २ थान र १ सय दरको २ थान नक्कली नोट तथा नक्कली नोट बनाउन प्रयोग मेसिन सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

    रानाले नक्कली नोट छाप्ने कार्य गर्ने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले रानाको खुद्रा पसल जाँच गर्दा उक्त नक्कली नोट फेला पारी पक्राउ गरेको हो ।

    साथै उनको पसलबाट १ थान फलामको कैंची, १ हजार दरको नेपाली नोटको साइज नाप्ने फलामको पाताबाट बनेको १ थान साँचो, १ थान गम, १ सय ५० थान फोटोकपी पेपर, १ थान रङ्गिन फोटोकपी मेसिन, १ थान डेस्कटप कम्प्युटर र १ हजार रुपैयाँ सक्कली नेपाली नोट १ थान प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस