• समाचार

    कञ्चनपुरमा उद्योग दर्ता गर्नेको संख्यामा वृद्धि

      ओमकार टाइम्स

    काठमाडौं । कञ्चनपुरमा उद्योग दर्ता गर्नेको संख्यामा ह्वात्तै बढेको छ । विगत वर्षको भन्दा यो वर्ष कञ्चनपुरमा उद्योग दर्ता गर्नेको संख्या बढेको घरेलु तथा साना उद्योग कार्यालय कञ्चनपुरले बताएको छ ।

    प्रायजसो यहाँका मानिस मजदूरीका लागि भारत तथा तेस्रो मुलुक जाने गर्थे तर, गत वर्ष कोरोना भाइरस फैलिएपछि  नेपाल फर्किएका स्थानीयले उद्योग संचालन गरेसँगै उद्योग दर्ता गर्नेको संख्या बढेको हो । स्थानीयस्तरमै कृषि, पशुपक्षी र व्यापारमा युवाको आकर्षण बढेसँगै यहाँ व्यवसाय दर्ता पनि गत वर्षभन्दा दोब्बरले वृद्धि भएको छ । चालु आर्थिक वर्षको सात महिना (माघ मसान्तसम्म) यहाँ एक हजार ५३८ उद्योग घरेलु कार्यालयमा दर्ता भएका छन् ।

    गत चालु आवमा यहाँ ७३४ उद्योगमात्रै दर्ता भएको कार्यालयका सूचना अधिकृत धर्मानन्द भट्टले जानकारी दिए । ‘यहाँ दिनहुँजसो उद्योग दर्ता गर्ने क्रम बढिरेहको छ’, सूचना अधिकृत भट्टले भने ।उनका अनुसार पछिल्लो समयमा सरकारले महिला उद्यमीका लागि उद्योग दर्तामा गरेका छुटका कारण पनि उद्योग दर्ता गर्ने बढेको हो । ‘कुनै पनि उद्योग दर्ता गरेको पाँच वर्षसम्म नवीकरण गर्नुपर्ने झन्झट छैन’, उनले भने, ‘दर्ता भएका उद्योग सञ्चालन भए/नभएबारे भने अनुगमन भएको छैन ।’

    कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले स्वदेशमै आयमूलक काममा अग्रसर भइरहेका युवाशक्तिलाई राज्यले सीपमूलक तालिम र विभिन्न प्रकारका अनुदान प्याकेज दिएर प्रोत्साहन गर्नुपर्ने बताए । सरकारले कोरोना कहरमा विदेशबाट स्वदेश फर्किएका युवालाई आयमूलक कामका लागि अनुदानसमेत प्रदान गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले कोरोना कहरमा विदेशमा रोजगारी गुमाएर स्वदेश फर्किएकालाई आयमूलक व्यवसायमा लगाउन १५ करोड रुपैयाँ जिल्लाका कृषि ज्ञान केन्द्रलगायतका निकायमा पठाइसकेको छ ।

     

    प्रतिकृया दिनुहोस