• पत्र-पत्रिका

    ९ नम्बर ल्याएका विद्यार्थीलाई ६० नम्बर थपेर ‘गोल्ड मेडल’ दिलाएको खुलासा

      पत्रपत्रिका



    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले ९ नम्बर ल्याएका विद्यार्थीलाई ६० नम्बर थपेर ‘गोल्ड मेडल’ दिलाएको खुलासा भएको छ ।

     

    स्नातकोत्तर तहको एक विषयमा ९ नम्बर ल्याएका सुरेन्द्र कोइरालालाई पनिका कर्मचारीले ६९ नम्बर दिएर ‘सर्वोत्कृष्ट’ बनाएका हुन् । कोइराला अधिवक्ता हुन् ।

     

    पाटन क्याम्पसमा मानविकी संकायअन्तर्गत अर्थशास्त्रका विद्यार्थी कोइरालालाई ‘गोल्ड मेडल’ दिलाउन कम्तीमा ३ वटा विषयमा नम्बर थप गरेको पाइएको छ ।

     

    ‘उत्तरपुस्तिकामा दिइएको नम्बर र क्याम्पसमार्फत उपलब्ध गराइने मार्क्सिटमा नम्बर फरक पारिएको रहेछ,’ पनिकाका एक कर्मचारीले भने, ‘पछि पनिका बल्खुले ट्रान्सक्रिप्टमा पनि नम्बर बढाएर दिएपछि उनले गोल्ड मेडल पाएका रहेछन् ।’

     

    स्रोतअनुसार एउटा विषयको उत्तरपुस्तिकामा ९ नम्बर रहेकामा पनिका गोप्य शाखाका कर्मचारीले ९ को अगाडि ६ थपेर मार्क्सिट र ट्रान्सक्रिप्ट दिएका छन् ।

     

    अन्य विषयमा पनि जथाभावी नम्बर थपेर ट्रान्सक्रिप्ट दिइएको छ । कोइरालालाई २०७२र७३ को वार्षिक परीक्षाको नतिजामा नम्बर थपेर सर्वोत्कृष्ट बनाइएको हो ।

     

    स्रोतका अनुसार परीक्षा नियन्त्रण कार्यालयमा रहने लेजरमा समेत सच्याएर शैक्षिक प्रमाणपत्र जारी गरेको पाइएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा  सुदीप कैनीले लेखेका छन् ।

    प्रतिकृया दिनुहोस