• विदेश

    भारतमा कोरोना संक्रमण तीव्र रुपमा फैलिदै

      ओमकार टाइम्स

    भारतमा पछिल्लो २४ घण्टामा एक लाखभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा एक लाख ३ हजार ५५८ जनामा कोरोना पुष्टि भएको छ ।

    भारतमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएयता एकैदिन संक्रमितको संख्या एक लाख नाघेको यो पहिलो पटक हो । योसँगै भारतमा कोरोना संक्रमितको संख्या एक करोड २५ लाख ८९ हजार नाघेको छ । त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा थप ४७८ जनाको कोरोनाले मृत्यु भएको छ । भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ६५ हजार १०१ पुगेको छ । पछिल्लो समय महाराष्ट्र, उत्तर प्रदेश, दिल्लीलगायतका राज्यमा कोरोना संक्रमण तीव्र बन्दै गइरहेको छ ।

    महाराष्ट्र सरकारले आइतबार साँझ ८ देखि बिहान ७ बजेसम्म एक साताका लागि लकडाउन घोषणा गरेको छ । यसअघि महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले संक्रमण फैलने क्रम नरोकिए लकडाउन गर्ने चेतावनी दिएका थिए । संक्रमण बढेपछि उडिसाले पनि विभिन्न १० जिल्लामा राति १० देखि बिहान ५ बजेसम्म कर्फ्यु घोषणा गरेको छ । महाराष्ट्र राज्यका मुम्बई, पुने, नासिकलगायत सहरी क्षेत्रमा नेपाली कामदारहरू बढी रहेको पाइन्छ ।

    प्रतिकृया दिनुहोस