• देश

    हाम्रो धर्म र सनातनीय संस्कारमा ह्रास आएको कुरा सांचो हो : पूर्वराजा शाह

      ओमकार टाइम्स

    पूर्वराजा ज्ञानेन्द्र शाहले हिन्दु धर्म र संस्कृति बचाउनुपर्नेमा जोड दिएका छन् । शनिबार भारतको हरिद्वारस्थित महाकूम्भ मेलालाई सम्बोधन गर्दै पूर्वाराजाले आफ्नो धर्म बचाउँदै संस्कृतिको रक्षा गरेर मठ मन्दिर, देवस्थल र धामहरूको विकास गर्नुपर्नेमा जोड दिएका हुन् ।

    ‘अब हामीले हाम्रो धर्म बचाउनु छ, हाम्रो संस्कृतिको रक्षा गर्नु छ, हाम्रा मठ मन्दिर, देवस्थल र धामहरूको विकास गर्नु छ । हाम्रा गंगा नदीहरूको प्रवाह स्वच्छ पार्नु छ’, शाहले भने, ‘भगवान रामले भन्नु भएको थियो “अपि स्वर्ण मणि लंका न मे लक्ष्मण रोचति जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” भन्ने सद्यूक्तिको ख्याल हामीले राख्नै पर्दछ ।’

    उनले के नेपाल सानो छ भन्ने महाकवि लक्ष्मी प्रसाद देवकोटाको निवन्धको पनि स्मरण गरेका छन् । ‘सानो छंदा मैले हाम्रा महाकवि लक्ष्मी प्रसाद देवकोटाले लेख्नु भएको, के नेपाल सानो छ भन्ने निबन्ध पढेको थिएँ बडो चिन्ताकासाथ हाम्रो आर्य सभ्यताको महत्व खिइँदै गएको कुरामा उहाँले उक्त निबन्धमा लेख्नु भएको थियो । हो, कतिपय वाह्य दवाव, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण केही समयदेखि हाम्रो पूर्वीय दर्शन, हाम्रो धर्म र सनातनीय संस्कारमा ह्रास आएको कुरा सांचो हो’, शाहले भने ।

    उनले हिन्दू सभ्यता, हिन्दूत्व रसनातनिक आर्य संस्कृति, वेद उपनिषद्, पूराण आदि अनेकौं ग्रन्थ सबै महत्वपूर्ण भएको भन्दै तिनको मननीय स्थान, हाम्रा विधि व्यवहार, जीवन पद्धति, आचरण र अनूशिलन आफैमा गहन भएको उल्लेख गरे ।

    पूर्वराजा शाह चैत २६ गते पत्नी कोमल राज्यलक्ष्मी देवी शाह पनि भारत गएका थिए । निरञ्जन पीठाधीश्वर स्वामी श्री कैलाशानंदजी महाराजको निमन्त्रणामा उनी हरिद्वार पुगेका हुन् ।सो मेलामा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलगायतका हिन्दुवादीहरु नेताहरुको सहभागिता रहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस