• राजनीति

    अविश्वास प्रस्तावसँग डराएर भाग्दिनँ : मुख्यमन्त्री गुरुङ

      ओमकार टाइम्स

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारविरुद्ध विपक्षी दलहरुले मोर्चाबन्दी कसेका छन् । तर, मुख्यमन्त्री गुरुङले अविश्वासको प्रस्तावबाट डराएर नभाग्ने, त्यसको सामना गर्ने बताएका छन् । यद्यपि, रातारात अधिवेशन अन्त्य गरिएको छ ।

    गुरुङ नेतृत्वको सरकारविरुद्ध सम्भवतः बिहीबारै अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी विपक्षी दलहरुले गरेका छन् । त्यसका लागि बिहीबार माओवादी र काँग्रेसको बैठक बसेर अबिश्वास प्रस्ताव अघि बढाउने सहमति जुटेको काँग्रेसका एक सांसदले  बताए ।

    विपक्षीहरुको काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई नयाँ मुख्यमन्त्रीका रुपमा अगाडि सार्ने तयारी गरेका छन् ।

    आफ्नो नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्तावबारे मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफू जानकार रहेको  बताए । ‘विपक्षीहरुको तयारीबारे म जानकार नै छु, अपवित्र गठबन्धन गरेर कम्युनिस्ट नेतृत्वको सरकार ढाल्ने प्रयास भइरहेको छ,’ मुख्यमन्त्री गुरुङले भने, ‘यदि सरकारका विरुद्ध प्रस्ताव आए सामना गर्न म तयार छु । डराएर भाग्ने कुरा हुँदैन ।’

    मुख्यमन्त्री गुरुङले राजनीतिका नाममा विपक्षीहरुले फोहोरी खेल खेलेको आरोपसमेत लगाए । उनले भने, ‘राजनीतिका नाममा फोहोरी खेल खेलिँदैछ, यो राम्रो होइन । मेरो नेतृत्वको सरकार के कुरामा कमजोर भयो ? के काम गर्न सकेन ? त्यसको जवाफ उनीहरुसँग छैन ।’

    उनले आफ्ना कारणले मोर्चाबन्दी गर्नुपर्ने कारण नरहेको भन्दै त्यस्तो कारण भए दिन चुनौतीसमेत दिएका छन् । ‘मेरा कारणले अर्थात पृथ्वी सुब्बा गुरुङका कारणले मोर्चाबन्दी गर्नुपर्ने एउटामात्रै तर्क दिन म उहाँहरुलाई चुनौती दिन्छु’, गुरुङको चुनौती छ ।

    मुख्यमन्त्री गुरुङले केपी ओलीको प्रतिगमनलाई सघाएको विपक्षीहरुले आरोप लगाएका छन् । तर, प्रतिगमनलाई सघाएको भन्ने आरोप आफूमाथि लगाइए पनि बरु आफ्नो सरकारविरुद्ध मोर्चाबन्दी गरेर काँग्रेस, माओवादी र जनमोर्चा नै प्रतिगमनको यात्रामा लागेको मुख्यमन्त्री गुरुङको प्रत्यारोप छ ।

    ‘उहाँहरु जे गर्न लाग्दै हुनुहुन्छ, त्यो चाहिँ प्रतिगामी कदम हो । काँग्रेस, एमाले, राष्ट्रिय जनमोर्चा मिलेर जे गर्न खोज्दैछन्, त्यो काम बरु प्रतिगामी हो’, गुरुङले भने, ‘यो सरकार वामपन्थीको होइन ? माओवादी र जनमोर्चाले समर्थन गरेको होइन ? अनि यस्तो वामपन्थीको सरकार ढालेर अर्को गैरवामपन्थीहरुको सरकार बनाउनु खोज्नुचाहिँ प्रतिगमन हो ।’

    मुख्यमन्त्री गुरुङले अविश्वास प्रस्तावको सामना गर्न तयार रहेको भन्दै प्रस्ताव असफल हुनेमा आफु विश्वस्त रहेको बताए । ‘म अविश्वास प्रस्तावबाट भाग्दिनँ, राजनीतिमा जीत–हार स्वभाविक हो । प्रकृयामा गएपछि सबैले त्यसलाई स्वीकार गर्नुपर्छ’, गुरुङले भने ।

    ६० सदस्यीय गण्डकी प्रदेश सभामा नेकपा एमालेका २७ सांसद छन् । सभामा काँग्रेस १५, माओवादी १२, जनमोर्चा ३ र जसपाका २ सांसद छन् । नयाँ सरकार गठनको पक्षमा उभिएका दललाई जनमोर्चाले पनि साथ दिएपछि सदस्य संख्या ३२ पुग्छ र मुख्यमन्त्री गुरुङको बहुमत गुम्छ ।

    प्रतिकृया दिनुहोस